जर्मनीविरुद्ध खेल्ने अर्जेन्टिनाको प्लेइङ–११ सार्वजनिक : को–को परे ?

काठमाडौं, असोज २२
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत जर्मनीविरुद्ध उत्रिने अर्जेन्टिनाको सुरुआती टोली घोषणा भएको छ । नेपाली समयअनुसार आज राति १२ः३० बजेबाट हुने खेलका लागि अर्जेन्टिनी प्रशिक्षक लिओनल स्कालोनीले सुरुआती टोली घोषणा गरेका हुन् ।

प्रशिक्षक स्कालोनीले जर्मनीविरुद्ध आफ्नो टोलीका युवा स्टारहरू लौटारो मार्टिनेज र पाउलो डिबाला दुवैले सुरुआती टोलीबाट खेल्ने पुष्टि गरेका छन् । यसै साता क्लब फुटबलमा युभेन्टसका लागि इन्टर मिलानविरुद्ध एक दर्शनीय गोल गरेका डिबाला र सोही खेलमा युभेन्टसविरुद्ध गोल गरेका मार्टिनेज दुवैलाई स्कालोनीले जर्मनीविरुद्ध उतार्ने भएका हुन् । त्यसैगरी, जर्मनीविरुद्धको आक्रमण लाइनमा डिबाला र मार्टिनेजसँगै एन्गल कोरेरियाले साथ दिनेछन् ।

इन्टर मिलानबाट खेलिरहेका मार्टिनेज वर्तमान समयमा अर्जेन्टिनी टोलीमा प्रमुख खेलाडी बनेका छन् । २२ वर्षका उनले अर्जेन्टिनीका लागि मात्रै १३ खेलबाट ९ गोल गर्दै उत्कृष्ट लय देखाएका छन्, जुन स्थायी कप्तान लिओनल मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो सुरुआती खेलमा गरेको गोल भन्दा राम्रो तथ्यांक हो ।

यस्तो छ अर्जेन्टिनाको प्लेइङ–११ :

गोलकिपर – अगुस्टित मार्चेसिन

डिफेन्डर – जाउन फ्योत, निकोलास ओटामेन्डी, मार्कोस रोजो, निकोलास ट्याग्लिआफिको

मिडफिल्डर – लियान्ड्रो पारेडेश, रोवेर्टो पेरेया, डे पाउल

फरवार्ड – पाउलो डिबाला, एन्गल कोरेरिया, लौटारो मार्टिनेज

प्रकाशित मिति २२ आश्विन २०७६, बुधबार ११:४६
Loading...