‘अब नेइमारलाई आराम गर्ने फुर्सद छैन’

एजेन्सी, असोज २२
फ्रेन्च क्लब पिएसजीका प्रशिक्षक थोमस टुचेलले आफ्ना प्रमुख खेलाडी ब्राजिलियन स्टार नेइमारसँग अब आराम गर्ने समय नरहेको बताएका छन् । प्रशिक्षकले यो बताएका छन् कि, नेइमारले अब क्लबमा उत्कृष्ट प्रदर्शनका लागि कडा मेहनत गर्नु आवश्यक छ भने उनी क्लबप्रति पनि उत्तिकै प्रतिबद्ध रहनुपर्छ ।

नेइमार भर्खरै सकिएको समर सिजनमा पूर्वक्लब बार्सिलोना जान चाहेका थिए । तर, दुई क्लबबीच कुरा नमिल्दा नेइमार यो सिजन पेरिसमै रहने भएका हुन् । नयाँ सिजन क्लब फर्किएपछि नेइमारले ५ खेलबाट ४ गोल गरेर लय देखाएका छन् ।

सोही सन्दर्भमा बोल्दै प्रशिक्षकले तत्काललाई सरुवा वा अन्य कुरा भुलेर नेइमारले पिएसजीप्रति प्रतिबद्ध रहनुपर्ने र टिमलाई योगदान दिनुपर्ने बताएका छन् । उत्कृष्ट प्रदर्शन गर्न सके क्लबले ठूला उपाधि र नेइमारले व्यक्तिगत रूपमा ठूला अवार्ड जित्ने सम्भावना उत्तिकै रहेको टुचेलले बताएका छन् ।

‘नेइमार यहीं रहनुमा मेरो निर्णय होइन, न त उनको नै । यो परिबन्धको निर्णय थियो,’ नेइमार बार्सिलोना फर्किन नसकेको विषयमा टुचेलले भने ।

नेइमारले क्लब छाड्न चाहेको आफूलाई थाहा भएको र उनी नजाउन् भन्ने आफूले चाहेको पनि नेइमारलाई जानकारी भएको टुचेलले बताए । ‘नेइमार क्लब छाड्न चाहन्थे, यो मलाई थाहा थियो । तर, म त्यसको विरुद्धमा थिएँ, यो कुरा पनि नेइमारलाई थाहा थियो । किनभने, नेइमारजस्ता उत्कृष्ट खेलाडी कोही प्रशिक्षक पनि गुमाउन चाहँदैनन्,’ टुचेलले भने ।

नेइमारलाई अब आराम गर्ने समय नरहेको टुचेलले बताए । ‘उनी यहाँ जित्न र सफल हुन चाहन्छन् । त्यसैले अब उनलाई आराम गर्ने समय छैन । उनले हरेक दिन मेहनत गर्नुपर्छ, कसरी जित्ने भन्नेमा ध्यान दिनुपर्छ,’ टुचेललले भने, ‘उनले टिमलाई सघाउँछन्, हामी उनलाई सघाउँछौं । सबैको प्रयासबाट टिम सफल हुन सक्छ ।’

प्रकाशित मिति २२ आश्विन २०७६, बुधबार ११:२२
Loading...