रोनाल्डो र मेस्सीबारे बुफोनको रोचक टिप्पणी

एजेन्सी, असोज २१
इटालियन क्लब युभेन्टसका भेट्रान गोलकिपर जियानलुइजी बुफोनले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डो र स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीबारे रोचक टिप्पणी गरेका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले दुई सुपरस्टार खेलाडीको तुलना गरेका छन् ।

यसै समरमा फ्रेन्च क्लब पिएसजीबाट पूर्वक्लब युभेन्टस पुगेका बुफोनले मेस्सी र रोनाल्डोलाई टेनिस खेलाडी रोजर फेडेरर र नाडालसँग तुलना गरेका छन् । बुफोनले रोनाल्डोलाई नाडालसँग तुलना गरेका छन् भने मेस्सीलाई फेडेररसँग तुलना गरेका छन् ।

बुफोनका अनुसार मेस्सी एक प्राकृतिक क्षमता भएका खेलाडी हुन् भने रोनाल्डो कडा महेनत र क्षमताले खारिएका खेलाडी हुन् । ‘फेडेरर एक प्रकृतिप्रदत्त खेलाडी हुन्, जबकि नाडाल लगनशीलता र क्षमताले कहलिएका खेलाडी हुन्,’ बुफोनले भनेका छन्, ‘नाडाल यस्ता खेलाडी हुन्, जसले करिअरमा अपत्यारिला उपलब्धि हासिल गरेका छन् ।

बुफानले अघि थपे, ‘जब तपाईं मलाई मेस्सी र रोनाल्डोको तुलना गर्न भन्नुहुन्छ, मलाई हाँस्नमन लाग्छ । मेरो विचारमा मेस्सी फेडेररजस्तै हुन् भने क्रिस्टियानो रोनाल्डो नाडालजस्तै हुन्, जसको करिअर निकै लोभलाग्दो छ ।’

प्रकाशित मिति २१ आश्विन २०७६, मंगलवार १५:३७
Loading...