रियल मड्रिडले आयाक्सका युवा स्टार भित्र्याउन ‘बम्पर अफर’ गर्ने

एजेन्सी, असोज २१
स्पेनिस क्लब रियल मड्रिडले आगामी जनवरी सिजनमा डच क्लब आयाक्सका युवा स्टार भान डे बिक अनुबन्ध गर्न आकर्षक प्रस्ताव गर्ने तयारी गरेको छ । इंग्लिस मिडियाका अनुसार रियलले डच मिडफिल्डर डोनी डे बिकलाई सान्टियागो बेर्नाबेउमा उतार्न रियलले आयाक्ससँग ११२ मिलियन युरोको अफर गर्ने तयारी गरेको छ । रियलले यसअघि समरमा पनि डे बिकका लागि इच्छा देखाएको थियो । तर, त्यसबेला म्यानचेस्टर युनाइटेड उनलाई भित्र्याउन लागेकाले रियल रोकिएको थियो ।

रियलले हाल टोलीमा रहेका खेलाडीको दीर्घकालीन प्रतिस्थापनका रूपमा डे बिकलाई उचित विकल्प ठानेको छ । सेन्टर मिडफिल्डमा प्रभावकारी देखिएका उनी रियलका उचित विकल्प हुने क्लबले ठानेको छ । पछिल्ला सिजन आयाक्समा आक्रामक खेल शैलीका कारण युरोपका ठूला क्लबको समेत नजरमा रहका डे बिक भित्र्याउने दौडमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बार्यन म्युनिखसमेत रहेका छन् ।

तर, रियलका प्रशिक्षक जिनेदिन जिदानको नजरमा परेका उनलाई भित्र्याउन रियल मड्रिडले विशेष योजना बनाएको छ । आगामी जनवरी सिजनमा रियलले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट फ्रेन्च खेलाडी पाउल पोग्बा अनुबन्ध गर्न नसके उसले डे बिकलाई प्रमुख लक्ष्य बनाउने देखिएको छ ।

प्रकाशित मिति २१ आश्विन २०७६, मंगलवार ०८:३१
Loading...