पाखुरा भाँचिका गोलकिपर लोरिसले २०१९ का सबै खेल गुमाउने

एजेन्सी, असोज २१
इंग्लिस क्लब टोटनह्याम तथा फ्रान्सको राष्ट्रिय टोलीका कप्तान ह्युगो लोरिसले यस वर्षका सबै खेल गुमाउने भएका छन् । गत शनिबार प्रिमियर लिगका अवे मैदानमा ब्राइटनविरुद्ध खेल्नेक्रममा पहिलो हाफमा घाइते भएका लोरिसको पाखुराको हड्डी भाँचिएको क्लब टोटनह्यामले पुष्टि गरेको छ । टोटनह्यामले सो खेल ३–० ले हारेको थियो ।

सो खेलमा लोरिस पोस्टमा बल पन्च गरेपछि भुइँमा बजारिएका थिए । बजारिएका लोरिसको आफ्नै शरीरले चिथेर उनको पाखुराको हड्डी भाँचिएको हो । उनलाई तत्कालै मैदानमा प्राथमिक उपचार गरेर स्ट्रेचरमा राखेर मैदानबाट निकालिएको थियो ।

अन्तर्र्राष्ट्रिय खेलअघि फ्रान्सका प्रशिक्षक डेडियर डेस्च्याम्प्सले यो पुष्टि गरेका छन् कि, लोरिस चोटका कारण वर्ष २०१९ भरि खेल्न सक्नेछैनन् । उनको चोट गम्भीर खालको रहेका बताउँदे प्रशिक्षकले लोरिसलाई रिकभर हुन लामो समय लाग्ने बताएका छन् ।

लोरिस टोटनह्याम र फ्रान्सको टोलीका प्रमुख गोलकिपर हुन् । उनी फ्रान्सका कप्तानसमेत हुन् । तर, अब उनको गम्भीर चोटले दुवै टोलीलाई ठूलो असर पर्ने भएको छ । फ्रान्सले यसै साता मैत्रीपूर्ण र युरो कप छनौटअन्तर्गत आइसल्यान्ड र टर्कीसँग खेल्दैछ ।

प्रकाशित मिति २१ आश्विन २०७६, मंगलवार ०८:२९
Loading...