७० खेल कम खेलेर मेस्सीले तोडे रोनाल्डोको ‘सर्वाधिक गोल’को रेकर्ड

एजेन्सी, असोज २०
स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले आफ्ना खास प्रतिस्पर्धी इटालियन युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको एक रेकर्ड भंग गरेका छन् । गत राति ला लिगामा सेभिल्लाविरुद्ध यो सिजनको पहिलो गोल गरेसँगै मेस्सीले रोनाल्डोले युरोपका टप–५ लिगमा गरेको सर्वाधिक लिग गोलको रेकर्ड भंग गरेका हुन् ।

गत राति सेभिल्लाविरुद्ध गोल गरेसँगै मेस्सीले क्लब बार्सिलोनाका लागि घरेलु लिगमा कूल ४२० गोल गरे । यो घरेलु लिगमा मात्रै गरेको गोल संख्या हो । सो गोलसँगै उनले रोनाल्डोले युरोपका विभिन्न लिगमा गरेको कूल गोल संख्यालाई उछिनेका हुन् ।

रोनाल्डोले आफ्नो करिअर दौरान विभिन्न लिगबाट हालसम्म कूल ४१९ गोल गरेका छन्, जुन कुनै पनि खेलाडीले गरेको सर्वाधिक लिग गोल थियो । उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस रियल मड्रिड तथा युभेन्टसबाट गरी कूल ४१९ गोल गरेका हुन् । तर, अब मेस्सी रोनाल्डोलाई १ गोलले पछि पार्दै युरोपियन फुटबलमा सर्वाधिक लिग गोल गर्ने खेलाडी बनेका छन् ।

रोनाल्डोले प्रिमियर लिगमा ८४, ला लिगामा ३११ र सिरी ‘ए’ मा २४ गरी कूल ४१९ गोल गरेका छन् । मेस्सीले हालसम्म ला लिगामा बार्सिलोनाका लागि कूल ४२० गोल गरेका छन् । मेस्सी सन् २००४ देखि लगातार ला लिगाबाटै खेलिरहेका छन् भने रोनाल्डोले युरोपका विभिन्न लिगबाट खेलिसकेका छन् ।

तथ्यांकअनुसार मेस्सीले रोनाल्डोको भन्दा ७० खेल कम खेलेर ४२० गोल गरेका हुन् । मेस्सीले ४२० गोल गर्न कूल ४५५ खेल खेलेका छन् । रोनाल्डोले ४१९ गोल गर्न कूल ५२५ खेल खेलेका छन् ।

प्रकाशित मिति २० आश्विन २०७६, सोमबार २१:०८
Loading...