रूनीले गरे च्याम्पियन्स लिग जित्ने टिमको भविष्यवाणी

एजेन्सी, असोज २०
इंग्ल्यान्डको राष्ट्रिय टोलीका पूर्वखेलाडी वायने रुनीले यस सिजन युरोपियन च्याम्पियन्स लिग जित्न सक्ने टिमबारे अनुमान गरेका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले यो सिजन फेरि पनि इंग्लिस टिमले नै युरोपियन उपाधि जित्ने बताएका छन् ।

रुनीका अनुसार यसपटक पनि लिभरपुलले च्यापियन्स लिग जित्ने प्रबल सम्भावना छ । त्यस्तै, उनले इटालियन युभेन्टस, फ्रेन्च पिएसजी र जर्मन बार्यन म्युनिखलाई पनि प्रमुख दाबेदार मानेका छन् । ‘यहाँसम्मको नतिजा र टिम हेर्दा फेरि पनि युरोपियन उपाधि लिभरपुलले जित्ने सम्भावना म देख्छु । उनीहरू अहिले जुन गतिमा छन्, त्यो गति निकै बेगिलो छ । र, उनीहरू फेरि पनि यो उपाधि जित्न सक्षम देखिन्छन्,’ रुनीले भने ।

रुनीले म्यानचेस्टर सिटी एक शानदार टिम भए पनि यतिबेला ऊभन्दा लिभरपुल नै बलियो देखिएको बताए । ‘सिटी एक शानदार टिम हो । तर, यतिबेला लिभरपुल नै बलियो देखिन्छ,’ रुनीले थपे ।

रुनीले स्पेनिस बार्सिलोनमा लिओनल मेस्सीजस्ता विश्वकै उत्कृष्ट खेलाडी भएकाले दाबेदार रहे पनि उनीहरू टिमका रूपमा च्याम्पियन्स लिगमा कमजोर दाबेदार रहेको बताए । ‘त्यहाँ मेस्सीजस्ता उत्कृष्ट खेलाडी छन् । तर, उनीहरू टिमका हिसाबले अन्य टिमभन्दा बलिया छैनन्,’ रुनीले भने, ‘तसर्थ म बार्सिलोनालाई बलियो दाबेदार मान्दिनँ ।’

रुनीले यसपटक अन्य ठूला टिम पनि सही दिशामा रहेको बताए । ‘यो सिजन पिएसजी, बार्यन र युभेन्टसको ठूलो तयारी छ । र, उनीहरूसँग शानदार टिम छ । मलाई लाग्छ, उनीहरू उपाधि होडमा खरो उत्रिनेछन् ।’

त्यस्तै, रुनीले यस सिजन प्रिमियर लिग लिभरपुलले जित्ने दाबी गरे । ‘मलाई लाग्छ, यसपटक प्रिमियर लिग लिभरपुलले जित्छ । किनभने, उनीहरूले यसपटक गत सिजनभन्दा धेरै सुधार गरेका छन् । र, उनीरूको सुरुआत निकै शानदार छ ।’

प्रकाशित मिति २० आश्विन २०७६, सोमबार १५:१९
Loading...