सेभिल्लाविरुद्ध बार्सिलोनाको ४ गोल : मेस्सीले पहिलो गोल गर्दा दुई खेलाडीलाई रातो कार्ड !

काठमाडौं, असोज २०
खेलको अन्तिम समयमा ९ खेलाडीमा सीमित बार्सिलोनाले ला लिगा फुटबलमा शानदार जित निकालेको छ । अन्तर्राष्ट्रिय ब्रेकअघिको अन्तिम खेलमा बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा पाहुना टोली सेभिल्लालाई ४–० ले निराश बनायो । खेलको अन्तिम समयमा बार्सिलोनाका २ जना खेलाडी रातो कार्ड पाएर मैदान छाडेका थिए ।

कप्तान लिओनल मेस्सीले यो सिजन पहिलो गोल गरेको खेलमा बार्सिलोनाले घरेलु दर्शकमाझ उच्च मनोबलसाथ प्रदर्शन गर्दै प्रभावशाली जित निकाल्न सफल भयो । मेस्सीले यसै खेलमा उत्कृष्ट फ्रि किकमार्फत् गोल गर्दै यो सिजनका लागि गोलको खाता खोलेका हुन् ।

बार्सिलोनाले पहिलो गोल गरेको ८ मिनेटभित्र ३ गोल गरिसकेको थियो । उसका लागि खेलको २७औं मिनेटमा लुइस स्वारेजले पहिलो गोल गरेका थिए । उनले नेल्सन सेमेडोको पासमा बक्स भित्रबाट ओभर हेड किकमा दर्शनीय गोल गरेका हुन् । त्यसपछि खेलको ३२ औं मिनेटमा अर्टुरो भिडालले अर्थुरको पासमा सहजै गोल गरेपछि बार्सिलोना २–० ले अघि भयो ।

फेरि दोस्रो गोल गरेको ३ मिनेटमै बार्सिलोनाका लागि उसामान डेम्बेलेले सुन्दर गोल गरेपछि खेलमा बार्सिलोनाले ३–० को लिड बनायो । डेम्बेलेले सेभिल्लाका डिफेन्डरलाई चलाखीपूर्वक बिट गर्दै प्रहार गरेको बलले जाली चुमेको थियो । सो गोलमा पनि अर्थुरले नै असिस्ट गरेका थिए । डेम्बेलेको सो गोलपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को सहज अग्रता बनायो ।

दोस्रो हाफमा केही नाटकीय दृश्य देखिए । जहाँ कप्तान मेस्सीले खेलको ७८औं मिनेटमा बक्स नजिकैबाट फ्रि किकमार्फत् दर्शनीय गोल गरेर टिमलाई ४–० को अग्रता दिलाएपछि बार्सिलोना फराकिला जिततर्फ अढि बढ्यो । बाँकी समयमा सेभिल्लाले गोलका केही राम्रा अवसर बनाए पनि उसले मौका सदुपयोग गर्न सकेन । र, खेल बार्सिलोनाले ४–० ले जित्यो ।

बार्सिलोनाले खेलको ८८औं मिनेटमा दुई रातो कार्ड पायो । खेलको ७३औं मिनेटमा टोडिबोको स्थानमा मैदान छिरेका रोनाल्ड आर्जुलाई रेफ्रीले खराब पउलका लागि सोझै रातो कार्ड दिएका थिए । उनले यसै खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । तर, उनको डेब्यु खराब रह्यो ।

लगत्तै रातो कार्डको विषयमा रेफ्रीसँग विवाद गर्दै ‘गाली गरेपछि’ पहिला नै एक पहेंलो कार्ड पाइसकेका डेम्बेलेलाई पनि रेफ्रीले दोस्रो पहेंलो कार्डका साथ रातो कार्ड देखाएपछि बार्सिलोना अन्तिम केही समय ९ खेलाडीमा सीमित भएको थियो । रातो कार्डकै विषयमा विवाद गर्दा सर्जियो बुस्केट्सलाई समेत पहेंलो कार्डको दर्शन गराइएको थियो ।

अब यो जितसँगै बार्सिलोना जारी सिजन पहिलोपटक लिगको दोस्रो स्थानमा चढेको छ । उसले ८ खेलबाट १६ अंक जोडेर एथ्लेटिको मड्रिडलाई पछि पार्दै दोस्रोमा चढेको हो । अब बार्सिलोना समान खेल खेलेको लिग लिडर रियल मड्रिडभन्दा मात्रै २ अंकले पछि छ । यता, पराजित सेभिल्ला समान खेलपछि १३ अंकका साथ लिगको छैटौं स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति २० आश्विन २०७६, सोमबार ०२:३७
Loading...