युभेन्टसले उसकै घरमा टुंगाइदियो इन्टर मिलानको विजयी यात्रा

काठमाडौं, असोज २०
इटालियन सिरी ए फुटबलमा यो सिजन शतप्रतिशत विजयी यात्रामा रहेको इन्टर मिलानको विजयी यात्रामा पूर्णविराम लागेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको लिगको सातौं खेलमा साबिक विजेता युभेन्टसले मिलानलाई उसकै घरेलु मैदानमा १–२ को हार चखायो ।

पहिलो रोजाइका खेलाडीको सेट लिएर मिलानको घरमा उत्रिएको युभेन्टसले आक्रामक खेल खेल्दै घरेलु टोलीबाट ३ अंक खोस्न सफल भयो । युभेन्टसका लागि खेल सुरु भएको चौथो मिनेटमै अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले उत्कृष्ट फिनिसिङमा गोल गरेर भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । सो गोलमा मिरेलाम पियानिचले असिस्ट गरेका थिए ।

तर, खेलको १८औं मिनेटमा घरेलु टोली मिलानले पेनाल्टीमार्फत् गोल फर्कायो । डिफेन्डर माथिस डि लिग्टले बक्समा ह्यान्ड बल गरेपछि रेफ्रीले भिएरआबाट मिलानलाई पेनाल्टीको मौका दिएका दिए । जसमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले गोल गर्दै खेल १–१ बनाए । र, पहिलो हाफ बराबरीमा सकियो ।

दोस्रो हाफमा युभेन्टसले सुरुबाटै आक्रामक खेल खेल्यो । पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोको एक कडा प्रहार बारमा लागेर फर्किएपछि उनी खातामा गोल थप्न असफल भएका थिए । दोस्रो हाफमा उनले डिबालाको पासमा गोल गरेका थिए । तर, डिबाला अफसाइड रहेपछि सो गोल भिएआरबाट रद्द गरिएको थियो । रोनाल्डोले गोलको सेलिब्रेसनसमेत गरिसकेका थिए ।

त्यसपछि खेलको ८०औं मिनेटमा सब्सिच्युट खेलाडी गोन्जालो हिगुइनले बेन्टाकुरको पासमा उत्कृष्ट गोल गरेपछि खेल युभेन्टसले १–२ ले जित्यो । अब यो जितसँगै युभेन्टस लिगको शीर्ष स्थानमा पनि चढेको छ । उसले ७ खेलबाट १९ अंक जोडेको छ । पराजित मिलान समान खेलपछि १८ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति २० आश्विन २०७६, सोमबार ०२:४८
Loading...