बार्सिलोना भर्सेस सेभिल्ला : पहिलो हाफमा बार्सिलोना ३–० ले अघि

काठमाडौं, असोज २०
स्पेनिस ला लिगा फुटबलमा अहिले आठौं साताको खेलमा बार्सिलोना र सेभिल्लाको खेल जारी छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा जारी खेलको पहिलो हाफमा घरेलु टोली बार्सिलोनाले ३–० को सहज अग्रता लिएको छ । बार्सिलोनाले मात्रै ८ मिनेटको बीचमा ३ गोल गर्न सफल भयो ।

आफ्नो घरमा सुरुबाटै हाबी भएको बार्सिलोनाका लागि पहिलो गोल खेलको २७औं मिनेटमा लुइस स्वारेजले गरे । उनले नेल्सन सेमेडोको पासमा बक्स भित्रबाट ओभर हेड किकमा दर्शनीय गोल गरेर टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३२ औं मिनेमा अर्टुरो भिडालले अर्थुरको पासमा सहजै गोल गरेपछि बार्सिलोना २–० ले अघि भयो । दोस्रो गोल गरेको ३ मिनेटमै बार्सिलोनाका लागि उसामान डेम्बेलेले सुन्दर गोल गरेपछि खेलमा बार्सिलोनाले ३–० को लिड बनायो । डेम्बेलेले सेभिल्लाका डिफेन्डरलाई चलाखीपूर्वक बिट गर्दै प्रहार गरेको बेलले जाली चुमेको थियो ।

पहिलो हाफमा दुवै टिमले औसतमा बराबरीजस्तै आक्रमण गरे पनि बार्सिलोनाले गोल निकाल्न सफल भयो । सेभिल्लाले पहिलो हाफमा तीनपटक गोलका लागि अवसर बनाए पनि उसका खेलाडी चुकेका थिए ।

प्रकाशित मिति २० आश्विन २०७६, सोमबार ०१:३२
Loading...