म्यानचेस्टर युनाइटेड न्युक्यास्टलसँग स्तब्ध : डेब्युमा माथेउको विजयी गोल

काठमाडौं, असोज १९
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सिजनको तेस्रो हार भोगेको छ । लिगका सुरुआती ८ खेल सकिँदा युनाइटेडले तेस्रो खेल न्युक्यास्टलसँग उसकै घरमा हारेको हो ।

आइतबार राति न्युक्यास्टलको घरेलु मैदानमा उत्रिएको युनाइटेडले कमजोर प्रदर्शन गर्दा हार टार्न सकेन । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलविहीन रह्यो । पहिलो हाफमा युनाइटेड घरेलु टोलीसामु कमजोर देखिएको थियो ।

दोस्रो हाफमा युनाइटेडले सुधारिएको खेल खेले पनि गोल भने न्युक्यास्टलले हान्यो । खेलको ७२औं मिनेटमा माथेऊ लङ्सटफले बक्स बाहिरबाट दर्शनीय गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । विलियम्सले मैदानको माथिल्लो भागबाट युनाइटेडका ३ जना डिफेन्डरलाई बिट गर्दै दिएको पासमा अनर्माक रहेका माथेऊले कुनै गल्ती नगरी कडा प्रहारमा गोल गरे ।

माथेऊले आज यसै खेलबाट प्रिमियर लिगमा डेब्यु गरेका थिए । १९ वर्षीय युवा खेलाडी उनले आफ्नो डेब्यु खेलमै गोल मात्रै गरेनन्, उनको गोलले लिगकै एक बलियो टिमलाई समेत निराश बनायो ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल न्युक्यास्टलले १–० ले जित्यो । अब यो जितपछि न्युक्यास्टलले ८ खेलबाट ८ अंक जोडेको छ । लिगमा उसको यो दोस्रो जित हो । ऊ हाल १६औं स्थानमा चढेको छ । पराजित युनाइटेड समान खेलबाट ९ अंकमा सीमित हुँदै १२औं स्थानमा छ । युनाइटेड लिग लिडर लिभरपुलभन्दा ठीक १२ अंकले नै पछि छ ।

प्रकाशित मिति १९ आश्विन २०७६, आईतवार २३:२३
Loading...