प्रिमियर लिग : बोर्नेमाउथलाई हराउँदै आर्सनल तेस्रो स्थानमा उक्लियो

काठमाडौं, असोज १९
आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा चढेको छ । आइतबर राति भएको लिगको आठौं खेलमा बोर्नेमाउथमाथि कठिन जित निकाल्दै आर्सनल यो सिजन पहिलोपटक टप–३ मा उक्लिएको हो ।

आर्सनलको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले ज्यादै कम मात्रै गोलका अवसर बनाएका थिए । तर, घरेलु टोली आर्सनलका लागि नवौं मिनेटमा डेभिड लुइजले गरेको १ मात्रै गोल जितका लागि निर्णायक बन्यो । सोही गोलको मदतमा आर्सनलले बाँकी समयमा अग्रता जोगाएर खेल १–० ले जित्यो ।

आफ्नो घरमा चर्को दबाबमा रहेर खेलेको आर्सनलले कूल १२ प्रहार गर्दा मात्रै २ प्रहार सही दिशामा हानेको थियो । बोर्नेमाउथले उत्कृष्ट रक्षात्मक खेल खेल्दा आर्सनलले खेलमा थप गोल निकाल्न सकेन ।

अब यो जितसँगै आर्सनलले ८ खेलबाट १५ अंक जोडेर लिगको तेस्रो स्थानमा चढेको छ । ऊ अब दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १ र लिग लिडर लिभरपुलभन्दा ९ अंकले पछि छ । यता, पराजित बार्नेमाउथ समान खेलपछि ११ अंकका साथ १०औं स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति १९ आश्विन २०७६, आईतवार २२:३४
Loading...