प्रिमियर लिग : चेल्सीले निकाल्यो शानदार जित

काठमाडौं, असोज १९
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ । आइतबर राति भएको लिगको आठौं खेलमा चेल्सीले साउथह्यामपटनलाई उसकै घरमा १–४ ले हरायो । चेल्सीलाई अवे मैदानमा जिताउन ४ जना फरक–फरक खेलाडीले गोल गरे उसका लागि खेलको १७औं मिनेटमा टामी अब्राहमले पहिलो गोल गरे । त्यसको ७ मिनेटपछि नै मासोन मोन्टले गोल गरेर चेल्सीलाई ०–२ को लिड दिए । तर, खेलको ३०औं मिनेटमा घरेलु टोली साउथह्यामपनटका लागि ड्यानी इङ्सले गोल गरेर टिमलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

तर, खेलको ४०औं मिनेटमा चेल्सीका लागि एन्गोलो कान्टेले दर्शनीय गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–३ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको ८९औं मिनेटमा मिकी बात्सुयायीले गोल गरेपछि खेल चेल्सीले १–४ ले जित्यो । यो जितसँगै चेल्सीले ८ खेलबाट १४ अंक जोडेर लिगको पाँचौं स्थानमा चढेको छ । पराजित साउथह्यामपटन समान खेलपछि ७ अंकका साथ १६औं स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति १९ आश्विन २०७६, आईतवार २२:२०
Loading...