भाल्लाडोलिड पेनाल्टीमा अभागी : एथ्लेटिको मड्रिड हारबाट बच्यो

काठमाडौं, असोज १९
स्पेनिस ला लिगा फुटबलमा उपाधि दौडमा रहेको एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको लिगको आठौं खेलमा भाल्लाडोलिड पेनाल्टीमा चुक्दा पाहुना टोली एथ्लेटिको हारबाट जोगिएको हो ।

घरेलु टोली भाल्लाडोलिडले खेलको ३६औं मिनेटमा पेनाल्टी पाएको थियो । तर, उसका खेलाडी सान्ड्रो रामिरेज पेनाल्टीमा चुक्दा भाल्लाडोलिड खेलमा अग्रता लिनबाट चुकेको थियो ।

त्यसपछि खेलमा दुवै टोलीले ज्यादै कम मात्रै मौका बनाए । भाल्लाडोलिडले खेलभरि कूल ९ पटक प्रहार गर्दा मात्रै एक पटक टार्गेटमा हानेको थियो भने एथ्लेटिकोले पनि कूल ९ पटक प्रहार गर्दा मात्रै एकपटक टार्गेमा राखेको थियो । खेलमा बल नियन्त्रण बढी एथ्लेटिकोले राखेको थियो ।

दोस्रो हाफमा एथ्लेटिकोले केही आक्रामक खेल खेले पनि भाल्लाडोलिडको उत्कृष्ट रक्षापंक्तिसामु उसका कुनै पनि फरवार्डको सीप चलेन । र, खेल ०–० मा टुंगियो । अब यो बराबरीपछि एथ्लेटिको र भाल्लाडोलिड दुवैले अंक बाँडेका छन् । एथ्लेटिकोको खातामा ८ खेलपछि १५ अंक भएको छ भने भाल्लाडोलिडको खातामा १० अंक छ ।

प्रकाशित मिति १९ आश्विन २०७६, आईतवार २१:५१
Loading...