पिएसजीलाई च्याम्पियन्स लिग जिताउन ज्यान दिन तयार छु : नेइमार

एजेन्सी, असोज १९
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन सुपरस्टार नेइमारले क्लबलाई ठूला उपाधि जिताउन आफूले कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् । गत राति लिग वानमा एंगर्सलाई ४–० ले हराएपछि मिडियासँग प्रतिक्रिया दिँदै नेइमारले यस्तो प्रतिक्रिया दिएका हुन् । सो खेलमा नेइमारले टोलीका लागि चौथो गोल गरेका थिए ।

गत सिजन सकिनुअघि नै चोट बोकेर चोटमुक्त हुँदै पुनः क्लबमा फर्किएका नेइमार यसै सममा पूर्वक्लब बार्सिलोना फर्किन चाहेका थिए । तर, दुई क्लबबीच कुरा नमिल्दा नेइमार यस सिजन पेरिसमै रहन बाध्य भए । नयाँ सिजनका लागि क्लब फर्किएपछि नेइमारले ५ खेलबाट ४ गोल गरिसकेका छन् । उनी अहिले क्रमशः आफ्नो लयमा फर्किंदैछन् ।

‘हिजो बजारमा के–के चर्चा थिए भनेर अहिले कुरा गर्ने समय होइन । म अहिले पिएसजीको खेलाडी हुँ । र, मेरो ध्यान टिमलाई जिताउन केन्द्रित छ,’ नेइमारले भने, ‘म अहिले आफूलाई उत्कृष्ट लयमा राख्न प्रयास गरिरहेको छु । टोलीका लागि गोल गर्न र खेल जिताउन पाउँदा म खुसी छु ।’

नेइमारले गतिशील मानिसको जीवनमा उत्तारचढावहरू भइराख्ने बताए । ‘म कठिन चोटसँग लामो समय जुध्नुपर्दा निराश थिएँ । तर, अब चोटका दिन सकिए । म पुनः मैदान फर्किन पाउँदा खुसी छु,’ नेइमारले थपे, ‘अब मेरो ध्यान मैदानमा राम्रो गर्न केन्द्रित हुनेछ ।’

नेइमारले पिएसजीलाई च्याम्पियन्स लिग जताउन आफूले कुनै कसर बाँकी नराख्ने पनि बताए । ‘म यहाँ सीमित उद्देश्य लिएर आएको थिएँ, ती अहिले पनि मसँग छन् । म क्लबलाई ठूला उपाधि जिताउन चाहन्छु । त्यसका लागि म ज्यान दिन पनि तयार छु,’ नेइमारले भने ।

प्रकाशित मिति १९ आश्विन २०७६, आईतवार १७:१६
Loading...