लिग वान : एंगर्समाथि पिएसजीको फराकिलो जित, नेइमारको पनि गोल

काठमाडौं, असोज १८
फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पिएसजीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको लिगको नवौं साताको खेलमा पिएसजीले आफ्नो घरमा पाहुना टोली एंगर्समाथि ४–० को जित निकालेको हो । आफ्नो घरमा पिएसजीलाई जिताउन ४ जना फरक–फरक खेलाडीले गोल गरे ।

सुरुबाटै पिएसजीले एकपक्षीयजस्तै बनाएको खेलमा पिएसजीका लागि खेलको १३औं मिनेटमा पाब्लो साराबियाले पहिलो गोल गरे । त्यसपछि ३७औं मिनेटमा नयाँ खेलाडी माउरो इकार्डीले गोल गरेपछि पिएसजीले पहिलो हाफमा २–० को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा पनि पिएसजीले २ गोल थप्यो । खेलको ५९औं मिनेटमा इड्रिसा गुईले गोल गरेपछि पिएसजी सहज जिततर्फ अघि बढको थियो । त्यसपछि ९० औं मिनेमा नेइमारले गोल गरेपछि खेल पिएसजीले ४–० ले जित्यो ।

अब यो जितसँगै पिएसजीले लिगमा ९ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको नान्टेस १६ अंकसहित दोस्रो स्थानमा छ । पराजित एंगर्स १६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो समय नयाँ सिजनका लागि पिएसजीमा फर्किएपछि नेइमारले आफ्नो उत्कृष्ट लय कायमै राखेका छन् । क्लब फर्किएपछि उनले ५ खेलबाट ४ गोल गरिसकेका छन् ।

प्रकाशित मिति १८ आश्विन २०७६, शनिबार २३:२३
Loading...