अन्तिम मिनेटको पेनाल्टी गोलले जितायो लिभरपुललाई : सिटी ८ अंकले पछि !

काठमाडौं, असोज १८
इन्जुरी समयमा पेनाल्टी पाएपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित निकालेको छ । शनिबार राति लिभरपुलले लिगको आठौं साताको खेलमा पाहुना टोली लेस्टर सिटीलाई २–१ ले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले ९० मिनेटपछि थप समयमा पेनाल्टीमार्फत् गोल गर्दै ३ अंक सुरक्षित गर्न सफल भयो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले खेलको ४०औं मिनेटमा साडियो मानेको गोलबाट अग्रता लिएको थियो । सोही गोलको मदतमा जिततर्फ अघि बढेको लिभरपुलले खेलको ८०औं मिनेटमा गोल खायो । लेस्टरका लागि जेम्स माडिसनले गोल गरेर टिमलाई १–१ मा फर्काएका थिए ।

खेल बराबरीतर्फ अघि बढेका बेला थपिएको समयको पाचौं मिनेटमा लिभरपुलका लागि कप्तान जेम्स मिल्नरले पेनाल्टीमार्फत् गोल हाने । बक्समा लेस्टरका खेलाडीले लिभरपुलका मानेलाई फउल गरेपछि रेफ्रीले लिभरपुललाई पेनाल्टी दिए, जसमा मिल्नरले कुनै गल्ती नगरी गोल गरेर खेल २–१ ले जिताए ।

अब यो जितसँगै लिभरपुलले लिगमा शतप्रशित विजयी यात्रा जारी नै राखेको छ । उसले ८ खेलमा सबै खेल जितेर २४ अंकसहित लिगको शीर्ष स्थानमा यथावत छ । पराजित लेस्टर १४ अंकसहित तेस्रोमा छ । लिभरपुलले साबिक विजेता म्यानचेस्टर सिटीलाई ८ अंकले पछि पारेको छ । तर, सिटीले एक खेल कम खेलेको छ ।

प्रकाशित मिति १८ आश्विन २०७६, शनिबार २२:१२
Loading...