टोटनह्यामलाई ब्राइटनले चखायो लज्जास्पद हार : गोलकिपर लोरिसको पाखुरा भाँचियो

काठमाडौं, असोज १८
इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार टिम टोटनह्यामले लज्जास्पद हार भोगेको छ । शनिबार भएको लिगको आठौं खेलमा टोटनह्यामलाई ब्राइटनले आफ्नो घरेलु मैदानमा चर्को दबाबमा राख्दै ३–० को लज्जास्पद हारको सिकार बनायो ।

टोटनह्याम खेल सुरु भएको तेस्रो मिनेमै गोलकिपर ह्युगो लोरिस घाइते भएपछि संकटमा परेको थियो । उनलाई मैदानमै प्राथमिक उपचार गरेर स्ट्रेचरमा राखेर मैदानबाट निकालिएको थियो ।

खेल सुरु भएको तेस्रो मिनेटमै घरेलु टोली ब्राइटनका लागि निल माउपेले गोल गरे । बक्स बाहिरबाबाट आफ्ना साथीले हानेको प्रहार टोटनह्यामका गोलकिपर लोरिसले पन्च गरे । तर, नजिकै रहेका निलले हेडिङमार्फत् सहज गोल गरे । सोही बल बन्च गर्नेक्रममा लोरिस घाइते भए । लोरिस हाई आएको बललाई पन्च गरेपछि भुइँमा बजारिएका थिए । उनको पाखुराको हड्डी भाँचिएको बताइएको छ ।

खेलको सुरुमै गोल खाएर दबाबमा परेको टोटनह्यामले खेलको ३२औं मिनेटमा दोस्रो गोल खायो । १९ वर्षीय आरोन कोननल्लीले आकर्षक गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २–० को अग्रता लियो ।

दोस्रो हाफमा खेलमा फर्किन संघर्षरत टोटनह्यामलाई त्यत्तिबेला झट्का लाग्यो, जतिबेला खेलको ६५औं मिनेटमा आरोनले निकै शानदार ढंगले व्यक्तिगत दोस्रो गोल गरेर खेल ३–० बनाए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोेल नभएपछि खेल ब्राइटनले जित्यो ।

अब यो जितपछि ब्राइटन ८ खेलबाट ९ अंक बनाएर लिगको १२औं स्थानमा चढेको छ भने पराजित टोटनह्याम समानखेलबाट ११ अंकका साथ आठौं स्थानमा छ ।

प्रकाशित मिति १८ आश्विन २०७६, शनिबार १९:२३
Loading...