क्लाउडियोले लिए फुटबलबाट सन्यास

एजेन्सी, असोज १७
इटालियन क्लब युभेन्टसका लिजेन्ड खेलाडी क्लाउडियो मार्चिसियोले सबैखाले फुटबलबाट सन्यास घोषणा गरेका छन् । इटालीको राष्ट्रिय टोलीका स्टार मिडफिल्डर उनले पत्रकार सम्मेलन गरेर आफूले फुटबल बिसाएको घोषणा गरेका हुन् ।

उनले सन्यास लिनुअघि रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्गबाट अन्तिम सिजन खेलेका थिए । उनले गत सिजनको अन्त्यसँगै युभेन्टस छाडेका थिए । उनले अझै केही वर्ष खेल्ने आमअपेक्षा भए पनि ३३ वर्षकै उमेरमा फुटबलबाट सन्यास लिएका हुन् ।

क्लाउडियोले करिअरको लामो २५ वर्षको समय युभेन्टसमा बिताए । उनले सोक्रममा कूल ३८९ खेल खेले । सो क्लबबाट उनले ७ पटक सिरी ‘ए’ लिग र ४ पटक कोपा इटालिया जिते । सो क्लबमा २५ वर्ष बिताउँदा उनले कूल ३७ गोल आफ्नो नाममा लेखाए ।

क्लाउडियोले व्यावसायिक खेल जीवन थाल्नुअघि उनी ‘बल ब्वाई’ थिए । उनले युभेन्टसमै बल ब्वाई हुँदै युथ टोलीमा प्रवेश गरेका थिए । उनी सन् २००६ मा सिनियर टोलीमा डेब्यु गरेका थिए । यता, क्लाउडियोले देश इटालीका लागि कूल ५५ खेल खेले ।

उनले सन्यास घोषणा गर्नेक्रममा आफूले यो निर्णय लिँदा कठिन परेको बताए । ‘मैले केही चाँडै यो निर्णय लिएँ । यो निर्णय लिँदा मलाई निकै कठिन भयो । तर, यो सामान्य प्रक्रिया हो । अब नयाँ पुस्ता आउँछन् र ठाउँ लिन्छन्,’ उनले भने, ‘म मेरो करिअर दौरानका साथीभाइ र क्षणहरू सधैं मिस गरिरहने छु ।’

प्रकाशित मिति १७ आश्विन २०७६, शुक्रबार १९:४३
Loading...