च्याम्पियन्स लिग : जेनिट र लियोनको सहज जित

काठमाडौं, असोज १५
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा फ्रेन्च क्लब लियोनले सहज जित निकालेको छ । गत राति भएको समूह चरणको दोस्रो खेलमा लियोनले जर्मन क्लब आरबी लेईपजिगलाई उसकै घरमा ०–२ ले हरायो । प्रतिस्पर्धात्मक खेलमा लियोनलाई अवे मैदानमा जिताउन मेम्फिस डिपे र मार्टिन टेरियरले गोल गरे ।

लियोनका लागि खेलको ११औं मिनेटमा डिपेले सुरुआती गोल गरेका थिए । त्यसपछि खेलको ६५औं मिनेटमा मार्टिनले गोल गरेपछि खेलमा लियोनले ०–२ को अग्रता बनायो । बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेलमा लियोनले जित्यो ।

सोही समूहको अर्को खेलमा रसियन क्लब जेनिटले पोर्चुगिज क्लब बेनफिकालाई उसकै घरमा ३–१ ले हरायो । जेनिटको जितमा २ गोल आफूले हान्यो भने १ गोल उपहारमा पायो । जेनिटका लागि खेलको २१औं मिनेटमा आर्टेम ड्याजुबाले पहिलो गोल गरेका थिए ।

त्यसपछि खेलको ७०औं मिनेटमा बेनफिकाका रुबेन डियाजले आफ्नै पोस्टमा गोल गर्दा जेटिनले खेलमा अग्रता बनायो । त्यसपछि खेलको ७८औं मिनेटमा जेनिटका लागि सर्दार अजुमानले गोल गरेपछि ३–० को अग्रता दिलाए । खेलको ८५औं मिनेटमा बेनफिकाका लागि राउल डे तोमासले गोल गरे पनि खेल जेनिटले ३–१ ले जित्यो ।

अब समूह ‘जी’मा जेनिट ४ अंक बनाएर सबैभन्दा सिरानमा चढेको छ । लियोन समान ४ अंकसहित दोस्रो स्थानमा छ भने लेईपजिग ३ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति १६ आश्विन २०७६, बिहीबार ०८:१०
Loading...