च्याम्पियन्स लिग : भ्यालेन्सियालाई उसकै घरमा आयाक्सले गर्‍यो रामधुलाइ !

काठमाडौं, असोज १६
डच क्लब आयाक्स यो सिजन पनि युरोपियन च्याम्पियन्स लिगमा उत्कृष्ट लयमा देखिएको छ । उसले समूह चरणमा दुईटै खेलमा प्रभावशाली जित निकालेर आफ्नो लय फेरि पनि देखाएको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको समूह चरणको दोस्रो खेलमा आयाक्सले स्पेनिस भ्यालेन्सियालाई उसकै घरेलु मैदानमा ०–३ को लज्जास्पद हार चखायो ।

युवा टोलीले भरिएको आयाक्सका लागि खेलको आठौं मिनेटमै हाकिम जियाचले शानदार गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । उनले दुसान ट्याडिकको पासमा गोल गरेका थिए । त्यसपछि खेलको ३४औं मिनेटमा आयाक्सले खेलमा अग्रता दोब्बर बनायो । यसपटक क्विन्सी एन्टोन प्रोमेसले गोल गरे । सो गोलमा भान डे ब्रिकले असिस्ट गरेका थिए ।

घरेलु टोलीमाथि चर्को दबाब राखेको आयाक्स त्यत्तिमै अडिएन । उसले खेलको ६७औं मिनेटमा तेस्रो गोल हान्यो । यसपटक दोस्रो गोलमा असिस्ट गरेका भान डे ब्रिकले सुन्दर गोल गरे । सो गोलमा पनि दुसान ट्याडिकले नै असिस्ट गरेका थिए । त्यसपछि भ्यालेन्सियाले खेलमा फर्किन लगातार संघर्ष गरे पनि उसले स्कोर गर्न सकेन । र, खेल आयाक्सले ०–३ ले जित्यो ।

अब यो जितसँगै आयाक्सले दुईमा दुवै खेलमा क्लिन सिटसहित जितेर ६ अंक बनाएको छ । ऊ समूह ‘एच’को सबैभन्दा सिरानमा छ । पराजित भ्यालेन्सिया ३ अंकसहित दोस्रो स्थानमा छ भने इंग्लिस टिम चेल्सी ३ अंक नै बनाएर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति १६ आश्विन २०७६, बिहीबार ०३:२९
Loading...