सिरी ए : युभेन्टसको सहज जितमा रोनाल्डोको गोल

काठमाडौं, असोज ११
इटालियन सिरी ए फुटबलमा साबिक विजेता युभेन्टसले लगातार तेस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको लिगको छैटौं खेलमा युभेन्टसले आफ्नो घरमा पाहुना टोली एसपिएएललाई २–० ले हरायो । लिजेन्ड गोलकिपर जियानलुइजी बुफोनले पोस्ट सम्हालेको खेलमा युभेन्टसलाई जिताउन मिरेलाम पियानिच र क्रिस्टियानो रोनाल्डोले १–१ गोल गरे । युभेन्टसका लागि पहिलो हाफको अन्तिम समयमा पियानिचले दर्शनीय गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफमा युभेन्टसका लागि रोनाल्डोले हेडिङमार्फत् गोल गरे । मैदानको तल्लो कुनाबाट पाउलो डिबालाले दिएको हाई पासमा बक्समा रहेका रोनाल्डोले डिफेन्डरका बीचबाट हानेको कडा हेडिङ प्रहारले जाली चुमेपछि खेल युभेन्टसले २–० ले जित्यो । आजको खेलमा रोनाल्डोको व्यक्तिगत प्रदर्शन प्रभावशाली रह्यो । उनले गोल गर्नुका साथै चारपटक अवसर सिर्जना गरेका थिए भने उनी दुई सहज मौकामा गोल गर्नबाट चुके ।

लिगमा उनले यो सिजन पाँच खेलबाट ३ गोल गरेका छन् भने एक असिस्ट गरेका छन् । यो जितपछि युभेन्टसले लिगमा ६ खेलबाट १६ अंक जोडेको छ । ऊ लिगमा अपराजित रहेको छ । पराजित एसपिएएल समान खेलबाट मात्रै ३ अंक जोडेर लिगको २०औं स्थानमा छ ।

प्रकाशित मिति ११ आश्विन २०७६, शनिबार २१:००
Loading...