सिरी ए : आज युभेन्टस र इन्टर मिलानको खेल हुँदै

काठमाडौं, असोज ११
इटालीको घरेलु लिग सिरी ए फुटबलमा आजबाट छैटौं साताका खेल हुन गइरहेका छन् । आज हुने खेलमध्ये दुई महत्त्वपूर्ण खेल हुँदैछन् । युभेन्टस र इन्टर मिलानले आज आ–आफ्नो खेल खेल्दा ती दुवै खेल महत्त्वपूर्ण हुनेछन् । आजको छैटौं साताको पहिलो खेलमा युभेन्टस एसपिएएलसँग भिडन्त गर्दैछ ।

यस खेलका लागि युभेन्टसले एसपिएएललाई आफ्नो घरेलु मैदानमा आतिथ्यता दिँदैछ । युभेन्टस हाल लिगको दोस्रो स्थानमा छ । उसले ५ खेलबाट १३ अंक जोडेको छ । ऊ शीर्ष स्थानको इन्टर मिलानभन्दा २ अंकले पछि छ । मिलानले भने यो सिजन लिगमा सबै खेल जितेको छ ।

यता, आज युभेन्टसको घरमा उत्रिन लगेको एसपिएएल भने लिगको १९औं स्थानमा छ । उसले जम्मा एक खेल जितेर मात्रै ३ अंक बटुलेको छ । आज साबिक विजेता युभेन्टसको घरमा उत्रिँदा एसपिएएल अंक खोस्ने योजनामा हुनेछ । खेल नेपाली समयअनुसार ६ः४५ बजेबाट सुरु हुनेछ ।

युभेन्टसको टोलीमा आज सुपरस्टार क्रिस्टियानो रोनाल्डो उपलब्ध हुनेछन् । यसअघि ब्रेसियाविरुद्धको खेल चोटका कारण गुमाएका उनी यस खेलमा भने चोटमुक्त हुँदैन मैदान फर्किैंदैछन् । युभेन्टस आज आफ्नो घरमा उत्रिँदा रोनाल्डोका लागि भने गोल संख्या बढाउने मौका छ । उनले लिगमा ४ खेलबाट २ गोल गरेर १ गोलका लागि असिस्ट गरेका छन् ।

आज हुने अर्को खेलमा साम्पडोरिया र इन्टर मिलानको भिडन्त हुनेछ । यो खेल खेल्न मिलान अवे मैदानमा उत्रिनेछ । यो सिजन हालसम्म विजयी यात्रामा रहेको मिलान यस खेलबाट अर्को जित निकालेर शतप्रतिशत जितलाई कायमै राख्ने योजनामा छ । नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको नेतृत्वमा रहेको मिलानले ५ मा ५ वटै खेल जितेको छ । लिगमा आजको तेस्रो खेलमा सासुओलो र एट्लान्टा राति १२ः३० बजेबाट खेल्नेछन् ।

प्रकाशित मिति ११ आश्विन २०७६, शनिबार १०:३२
Loading...