बुन्डेसलिगा : बार्यनको शानदार जित, कोउटिन्होले खोले गोलको खाता

काठमाडौं, असोज ४
जर्मन लिग बुन्डेसलिगामा साबिक विजेता बार्यन म्युनिखले फराकिलो जित निकालेको छ । आज भएको लिगको छैटौं खेलमा बार्यनले भ्रमणकारी टोली वान एफसी कोल्नलाई ४–० ले निराश बनायो । पाहुना टोली कोल्न खेलको ५९औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो ।

बार्यनले आफ्नो घरमा प्रभावशाली जित निकाल्दा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले २ गोल गरे भने नयाँ खेलाडी फिलिपे कोउटिन्होले पनि पहिलो गोल गरे । स्पेनिस बार्सिलोनाबाट एकवर्षे लोनमा बार्यन पुगेका उनले बार्यनका लागि पेनाल्टीबाट पहिलो गोल गरेका हुन् ।

बार्यनका लागि खेलको तेस्रो मिनेटमै लेवान्डोस्कीले गोल गरेका थिए । सो गोलमा जोसुवा किमिचले असिस्ट गरेका थिए । सोही गोलको मदतमा बार्यनले पहिलो हाफमा १–० को अग्रता लियो ।

तर, दोस्रो हाफमा बार्यनले ३ गोल थप्यो । खेलको ४८औं मिनेटमा लेवान्डोस्कीले नै व्यक्तिगत दोस्रो गोल गरे । सो गोलमा पनि किमिचले नै असिस्ट गरेका थिए । त्यसपछि खेलको ६२औं मिनेटमा बार्यनले पेनाल्टी पायो ।

तर, ह्याट्रिक गर्ने अवसरसामु लेवान्डोस्कीले सो पेनाल्टी आफैं हानेनन् । उनले नयाँ खेलाडी ब्राजिलियन कोउटिन्होलाई पेनाल्टी हान्न दिएर ठूलो मन देखाए । जसमा कोउटिन्होले लेफ्ट कर्नरमा प्रहार गर्दै बललाई जाली चुमाउँदा उनले बार्यनका लागि पहिलो गोल दर्ता गराए ।

बार्यन त्यत्तिमै अडिएन । खेलको ७३औं मिनेटमा नयाँ खेलाडी इभान पेरिसचले गोल गरे । उनले कोउटिन्हेको पासमा निकै सुन्दर गोल गरेपछि खेल बार्यनले ४–० ले जित्यो ।

त्यसअघि खेलको ५९औं मिनेटमा वान एफसी कोल्नका किङ्स्ली इहिजीबेउ सोझै रातो कार्ड खाएर मैदान छाडेपछि पाहुना टोलीले बाँकी समय १० खेलाडीमै खेलेको थियो ।

अब यो जितसँगै बार्यनले पाँच खेलबाट ११ अंक बनाएर शीर्ष स्थानमा छ । ऊ दोस्रो स्थानको एससी फ्रेबर्गभन्दा १ अंकले अघि रहेको छ ।

प्रकाशित मिति ४ आश्विन २०७६, शनिबार १५:३३
Loading...