आज नेपाल र ताजिकिस्तान भिड्दै : नेपालमाथि चर्को दबाब

काठमाडौं, असोज ३
एएफसी यु–१६ च्याम्पियनसिप छनौट खेलअन्तर्गत तेस्रो खेलमा नेपालले आज ताजिकिस्तानको सामना गर्दैछ । जोर्डनमा जारी प्रतियोगितामा नेपालले तेस्रो खेलमा बलियो टिम ताजिकिस्तानसँग भिड्न लागेको हो ।

नेपालले यसअघि दुई खेलमा एक हारेर एक खेल बराबरी गर्दै १ अंक मात्रै जोडेको छ । तसर्थ, नेपाल आज यो खेल खेल्दा चर्को दबाबमा हुनेछ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सुरु हुनेछ ।

नेपाल आज अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुने यस खेलबाट स्पष्ट रूपमा ३ अंक जोड्ने दाउमा छ । तर, नेपालका लागि ताजिकिस्तान निकै बलियो प्रतिस्पर्धी हो । ताजिकिस्तानले यसअघि आफ्ना दुवै खेल जितेर ६ अंक बनाएको छ । आज ऊ नेपालमाथि अर्को जितको खोजीमा हुनेछ ।

नेपाल यसअघि पहिलो खेलमा जोर्डनसँग ७–० ले पराजित हुँदा दोस्रो खेलमा कुवेतसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । समूह ‘ए’ मा रहेको नेपाल हाल १ अंकसहित चौथो स्थानमा छ । यस प्रतियोगिताको विजेता टोली सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणका लागि छानिनेछ ।

प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार ०५:४७
Loading...