बार्सिलोनालाई डर्टमुन्डका अल्कासेरको चुनौती

एजेन्सी, भदौ ३०
युरोपियन च्याम्पियन्स लिग फुटबल भोलि (मंगलबार) बाट सुरु हुँदैछ । छनौट चरणअन्तर्गत पहिलो लेगका खेलहरू भोलि रातिबाट सुरु हुँदा प्रतियोगिताको उद्घाटन खेलमा इन्टर मिलान र स्लाभिया प्रहाले सिजनको पहिलो खेल खेल्नेछन् ।

नयाँ सिजनको च्याम्पियन्स लिगको पूर्वसन्ध्यामा जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्पेनिस खेलाडी पाको अल्कासेरले स्पेनिस बार्सिलोनालाई चुनौती दिएका छन् । एक अन्तर्वार्तामा बोल्दै उनले बार्सिलोनासँग खेल्न आफूहरू तयार रहेको मात्रै बताएनन्, जित्न पनि तयार रहेको बताए ।

अल्कासेर बार्सिलोनाकै पूर्वखेलाडी हुन् । गत सिजन मात्रै उनी बार्सिलोना छाडेर डर्टमुन्डमा अनुबन्ध भएका थिए । बार्सिलोनामा खेल्न नपाएपछि उनी सुरुमा लोनमा डर्टमुन्ड पुगेका थिए । बुधबार राति डर्टमुन्डले बार्सिलोनलाई आफ्नो घरमा छनौट चरणको पहिलो लेगको खेल खेल्न स्वागत गर्दैछ ।

‘बार्सिलोना र त्यहाँका खेलाडीप्रति मेरो ठूलो सम्मान छ । तर, मेरो वर्तमान डर्टमुन्ड हो । म मेरो टिमको सफलताका लागि सबथोक दिन तयार छु,’ अल्कासेरले भने, ‘हामी च्याम्पियन्स लिगका लागि पूर्ण रूपमा तयार छौं ।’

अल्कासेरले बार्सिलोना स्टार खेलाडीले भरिएको ठूलो टिम भए पनि आफूहरूले सजिलै जित्न नदिने बताए । ‘बार्सिलोना एक ठूलो क्लब हो, जोसँग विश्वकै उत्कृष्ट खेलाडी छन् । हामीलाई थाहा छ, उनीहरूसँग खेल्न सजिलो हुनेछैन,’ अल्कासेरले भने, ‘तर, हामी घरमा खेल्दैछौं । हामी बार्सिलोनालाई सजिलै जित्न दिँदैनौं । उनीहरूसँग कसरी खेल्नुपर्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ ।’

प्रकाशित मिति ३० भाद्र २०७६, सोमबार ०३:५९
Loading...