अग्रता जोगाउन नसक्दा आर्सनल वार्टफोर्डसँग रोकियो

काठमाडौं, भदौ २९
पहिलो हाफमा ०–२ को स्पष्ट अग्रता लिएर पनि दोस्रो जोगाउन नसक्दा आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको लिगको पाँचौं खेलमा आर्सनललाई वाटफोर्डले पछि परेको अवस्था उल्टाएर २–२ मा रोकेको हो ।

वाटफोर्डको मैदानमा भ्रमणकारी टोली आर्सनलले पहिलो हाफमा ०–२ को सहज अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा आफ्नै गल्तीका कारण २ गोल खाएरपछि उसले २ अंक गुमाउँदै लिगको तेस्रो स्थानमा चढ्ने मौकासमेत गुमायो ।

आर्सनलका लागि खेलको २१औं मिनेट र ३२औं मिनेटमा स्टार फरवार्ड अउबामेयाङले गोल गरेका थिए । सोही गोलको मदतमा आर्सनलले पहिलो हाफमा घरेलु टोलीलाई ०–२ ले पछाडि छाड्यो । तर, दोस्रो हाफमा आर्सनलले लगातार गल्ती गर्न पुग्यो ।

खेलको ५३औं मिनेटमा आर्सनलका डिफेन्डरले बक्स क्षेत्रमा गोलकिपरबाट पाएको पास आफ्ना साथीलाई दिनक्रममा वाटफोर्डका खेलाडीले नियन्त्रणमा लिएकोमा टम क्लेभर्लीले कुनै गल्ती नगरी गोल गरेर खेल १–२ बनाए ।

त्यसपछि खेलको ८१औं मिनेटमा घरेलु टोली वाटफोर्डले पेनाल्टी पायो । बक्समा आर्सनलका डिफेन्डर डेभिड लुइजले विपक्षी खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा पेरेरियाले गोल गर्दै खेल २–२ बनाए । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि खेल बराबरीमा टुंगियो ।

यस खेलमा घरेलु टोली वाटफोर्डले आर्सनलमाथि पूर्ण दबाब राखेको थियो । उसले ५३ प्रतिशत बल आफ्नो पक्षमा राखेर कूल ३१ पटक आर्सनलको पोस्टमा आक्रमण गर्दा आर्सनलले जम्मा ७ पटक मात्रै आक्रमण गर्न सक्यो ।

अब यो बराबरीपछि आर्सनलले ५ खेलबाट ८ अंक जोडेर लिगको सातौं स्थानमा छ । यदि आज उसले यो खेल जितेको भए १० अंक बनाएर तेस्रो स्थानमा उक्लिने थियो । यता, वाटफोर्ड भने लिगमा दुई खेल बराबरी गरेर २ अंक जोडेर लिगको सबैभन्दा पुछारमा रहेको छ ।

प्रकाशित मिति २९ भाद्र २०७६, आईतवार १७:३९
Loading...