बार्सिलोनाका फ्यानले बालबालिकासँग मनाए बाल दिवस : विविध कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ २९
स्पेनिस फुटबल क्लब बार्सिलोनाका नेपाली समर्थकहरूले बालबालिकासँग विविध कार्यक्रम गरे बाल दिवस मनाएका छन् । ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ नामक फेसबुक ग्रुपको आयोजनमा आज काठमाडौंको सिफलस्थित बाल संरक्षण गृह पुगेर उनीहरूले विविध कार्यक्रमका साथ बाल दिवस मनाएका हुन् ।

‘सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ आजै देशभैरि बाल दिवस मनाइरँदा फुटबलप्रेमी युवाहरूले सो बाल गृह पुगेर बालबालिकासँग विभिन्न कार्यक्रमका साथ दिवस मनाए । सोक्रममा बालबालिकाहरूलाई स्टेसनरीका सामग्री प्रदान गरिएको थियो भने बालबालिकाबीच चित्रकला प्रतियोगिता गरेर पुरस्कारसमेत वितरण गरिएको थियो ।

त्यसैगरी, सो बाल गृहमा रहेका ५० भन्दा बढी बालबालिकालाई खानासमेत खुवाइएको थियो । दिवस अवसरमा प्रतियोगितात्मक कार्यक्रमका साथै बालबालिकासँग नाचगानसमेत गरेर रमाइलो गरिएको थियो । सो कार्यक्रम लियो क्लब अफ् काठमाडौं, छब्दी बाराही र शान सर्भिस प्रालिको सहकार्यमा भएको फेसबुक ग्रुपका प्रमुख कविराज श्रेष्ठले बताए ।

सो समूहले आगामी दिनमा पनि विभिन्न सामाजिक क्षेत्रमा कार्य गर्ने योजना बनाएको छ । केही दिनअघि मात्रै सो समूहको अगुवाईमा पर्यटकीय तथा धार्मिक स्वयम्भू मन्दिर क्षेत्र सरसफाइसेमत गरिएको थियो । दुई वर्षदेखि सक्रिय सो फेसबुक ग्रुप बार्सिलोनाका नेपाली समर्थकहरूको समूह हो । सो समूहमा १ लाख ८० हजारभन्दा बढी सदस्य छन् ।

प्रकाशित मिति २९ भाद्र २०७६, आईतवार १३:४२
Loading...