मेस्सीको भन्दा फातीको रेकर्ड शानदार !

एजेन्सी, भदौ २९
स्पेनिस ला लिगा फुटबलमा गत राति बार्सिलोनाले आफ्नो घरेलु मैदानमा भ्यालेन्सियालाई ५–२ ले हरायो । कप्तान लिओनल मेस्सी चोटका कारण नखेलेको लिगको चौथो खेलमा १६ वर्षीय युवा खेलाडी अन्सु फाती, फ्रेन्की डे जोङ, जेरार्ड पिके र लुइस स्वारेजले गोल गरे ।

जसमा फाती र डे जोङले १–१ गोल गर्दै १–१ गोलका लागि असिस्ट गरे भने पिकेले १ गोल गरे । त्यस्तै, दुई खेलपछि मैदान फर्किएका स्वारेजले बेन्चबाट मैदान छिरेर पनि २ गोल गरे । एन्टोनी ग्रीजम्यानले १ असिस्ट गरे ।

गत रातिको खेलमा सब्सिच्युट स्वारेजले बेन्चबाट छिरेर दुई सुन्दर गोल गर्दा भन्दा १६ वर्षीय फाती सबैभन्दा आकर्षण र चर्चाको केन्द्रमा रहे । मेस्सी नभएको खेलमा पहिलोपटक सिनियर टोलीमा सुरुआती टोलीमा परेका उनले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरे भने सातौं मिनेटमा डे जोङको गोलमा असिस्ट गरे ।

मात्रै सुरुआती ७ मिनेटको बीचमा उनले उत्कृष्ट प्रदर्शन गर्दै १ गोल र १ असिस्ट गर्दा उनको चर्चा र तारिफ एक्कासि बढ्यो । सो खेलपछि उनी समाचारका शीर्षक बनिरहेका छन भने समर्थकहरूले उनको खेल कौशलको तारिफ गरिरहेका छन् । गत रातिको खेलमा अन्सु फातीलाई खेलको ६०औं मिनेटमा लुइस स्वारेजले प्रतिस्थापन गरेका थिए ।

यसअघि फातीले अवे मैदानमा ओसासुनाविरुद्धको खेलमा पनि १ गोल गरेका थिए । सो खेलमा उनले मैदान छिरेको ६ मिनेटमै गोल गरेका थिए । सो गोलपछि उनी बार्सिलोनाको इतिहासमा सिनियर टिममा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए भने ला लिगाको इतिहासमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बनेका थिए ।

फातीको रेकर्ड मेस्सीको भन्दा शानदार !

गत रातिको खेलमा १ गोल र १ असिस्ट गरेका फातीले बार्सिलोनाका सर्वाधिक सफल खेलाडी मेस्सीको भन्दा निकै शानदार तथ्यांक बनाएका छन् । मेस्सीले बार्सिलोनाका लागि सिनियर टिमबाट खेल्न थालेपछि उनले सुरुआती २ गोल गर्न १३ खेलसम्म पर्खिनु परेको थियो ।

तर, फातीले भने मात्रै तीन खेलमा सुरुआती २ गोल गरे । त्यसमा १ असिस्ट पनि फातीको नाममा छ । तर, मेस्सीले आफ्नो करिअरमा बार्सिलोनाका लागि सुरुआती २ गोलका लागि १३ खेलसमम खेल्नु परेको थियो ।

प्रकाशित मिति २९ भाद्र २०७६, आईतवार ०४:०१
Loading...