घरेलु मैदानमा भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

काठमाडौं, भदौ २९
युवा खेलाडी अन्सु फाती आकर्षणको केन्द्रमा रहेको खेलमा स्पेनिस बार्सिलोनाले ला लिगामा प्रभावशाली जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न लिगको चौथो खेलमा बार्सिलोनाले पाहुना टोली भ्यालेन्सियामाथि ५–२ को जित निकाल्यो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका १६ वर्षीय युवा स्टार अन्सु फातीले प्रभावशाली प्रदर्शन गरे । पहिलोपटक सिनियर टोलीको सुरुआती टोलीमा परेका उनले खेल सुरु भएको ७ मिनेटको बीचमा एक दर्शनीय गोल गर्दै १ गोलका लागि असिस्ट गर्दा रंगशालामा उनको सम्मानमा तालीका पर्रा बजिरहे । बार्सिलोनाले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो ।

घरेलु मैदानमा फाती र फ्रेन्की डे जोङले सुरुआती ७ मिनेटको बीचमा १–१ उत्कृष्ट गोल र १–१ असिस्ट गरेपछि बार्सिलोनाले शानदार सुरुआत गरेको थियो । फातीले खेल सुरु भएको दोस्रो मिनेटमै बक्स भित्रबाट कडा प्रहारमा सुन्दर गोल गरे । सो गोलमा डे जोङले असिस्ट गरेका थिए ।

पहिलो गोल गरेको ५ मिनेटपछि नै बार्सिलोनाले दोस्रो गोल हान्यो । सातौं मिनेटमा अघिल्लो गोलमा असिस्ट गरेका डे जोङले आकर्षक गोल गरे । उनको गोलमा पहिलो गोल गरेका फातीले आकर्षक असिस्ट गरेका थिए । सुरुआती ७ मिनेटमा फाती र डे जोङले १–१ गोल गरे भने एकअर्काको गोलका लागि उनीहरूले नै असिस्ट गरेर उत्कृष्ट तालमेल देखाएका थिए ।

तर, खेलको २७औं मिनेटमा पाहुना टोली भ्यालेन्सियाले गोल फर्कायो । उसका लागि केभिन गामेइरोले उत्कृष्ट फिनिसिङमा गोल गरेका थिए । सुरुमा सो गोल अफसाइड अवस्था भएको भन्दै मान्यता नदिइए पनि भिएआरबाट गोलको मान्यता दिइएको थियो ।

त्यसपछि दोस्रो हाफमा बार्सिलोना पाहुना टोलीमाथि झन् हाबी भयो । उसले लगातार भ्यालेन्सियाको पोस्टमा आक्रमण जारी राख्यो । सोक्रममा ६०औं मिनेटमा अन्सु फातीको स्थानमा मैदान छिरेका लुइस स्वारेजले २ गोल गरे । उनी ला लिगाको पहिलो खेल खेल्नेक्रममा घाइते भएर यसै खेलबाट मैदान फर्किएका हुन् । पुनरागमन खेलमै उनले २ गोल गरे ।

दोस्रो हाफमा बार्सिलोनाका लागि ५१औं मिनेटमा जेरार्ड पिकेले गोल गरे । भ्यालेन्सियाका गोलकिपर ज्यासपर सिलेसनको गल्तीको फाइदा उठाउँदै पिकेले गोल गरेका थिए । त्यसपछि ६०औं मिनेटमा मैदान छिरेका स्वारेजले ६१औं मिनेटमा गोल गरेपछि बार्सिलोना खेलमा ४–१ ले अगाडि रह्यो । फेरि खेलको ८२औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरे ।

तर, खेलको इन्जुरी समयमा भ्यालेन्सियाका लागि म्याक्सी गोमेजले गोल गरेपछि बार्सिलोनलो ५–२ ले खेल जित्यो । गोमेज यसै सिजन सेल्टा भिगोबाट भ्यालेन्सिया आएका थिए । र, नयाँ क्लबका लागि यो उनको पहिलो गोल थियो ।

अब यो जितपछि बार्सिलोनाले लिगका चार खेलबाट ७ अंक जोडेर लिगको चौथो स्थानमा चढेको छ । ९ अंक भएको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ भने समान ८–८ अंक भएका रियल मड्रिड र एथ्लेटिक बिल्बाओ दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति २८ भाद्र २०७६, शनिबार २०:५२
Loading...