बुन्डेसलिगा : बार्यन म्युनिख बराबरीमा रोकियो

काठमाडौं, भदौ २९
जर्मन लिग बुन्डेसलिगामा साबिक विजेता बार्यन म्युनिख बराबरीमा रोकिएको छ । शनिबार राति भएको लिगको चौथो खेलमा बार्यनलाई आरबी लेइपजिगले १–१ को बराबरीमा रोकेको हो ।

लेइपजिगले आफ्नो घरेलु मैदानमा पछि परेको अवस्था उल्टाएर पाहुना टोलीसँग बराबरीको नतिजा निकाल्यो । बार्यनले खेलको तेस्रो मिनेटमा रोवर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो ।

तर, पहिलो हाफको इन्जुरी समयमा घरेलु टोलीले पेनाल्टी पायो । जसमा इमिल फर्सबर्गले गोल गर्दै पहिलो हाफमा खेल १–१ बनाए । त्यसपछि दोस्रो हाफमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा टुंगियो ।

अब यो बराबरीपछि लेइपजिग चार खेलपछि १० अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ भने बार्यन समान खेलबाट ८ अंक जोडेर तेस्रोमा छ । बोरुसिया डर्टमुन्ड समान खेलपछि ९ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति २८ भाद्र २०७६, शनिबार १९:०३
Loading...