पिएसजीको टोलीमा नेइमारको पुनरागमन

एजेन्सी, भदौ २८
हालै सकिएको समर सिजन सरुवा बजारमा चर्चामा रहेका फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार लामो समयपछि टोलीमा परेका छन् । पिएसजीले आज राति लिगको पाँचौं खेलमा स्टार्सबर्गसँग खेल्दैछ । प्रशिक्षक थोमस टुचेलले सो खेलको टोलीमा नेइमारलाई पनि समेटेका छन् ।

यसअघि लिगका तीन खेलमा नेइमारलाई टोलीमै राखिएको थिएन । तर, सरुवा बजार सकिएसँगै नेइमारलाई टोलीमा पुनरागमन गराइएको हो । नेइमार यसअघि पूर्वक्लब स्पेनिस बार्सिलोना जाने चर्चा चुलीमा थियो । दुई क्लबबीच पटक–पटक छलफल हुँदा पनि सहमति नजुटेपछि नेइमार यो सिजन पेरिसमै रहने भएका हुन् ।

पिएसजीले आज राति आफ्नो घरमा लिगको १८औं स्थानको स्टार्सबर्गको सामना गर्दैछ । खेल राति ९ः१५ बजेबाट सुरु हुनेछ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै टुचेलले नेइमार टोलीमा रहेकोमा खुसी व्यक्त गर्दै उनले टिमलाई सम्पूर्ण योगदान दिन तयार रहेको बताए । ‘नेइमार अबका दिनमा टिमका लागि खेल्न र सफलताका लागि योगदान दिन प्रतिबद्ध छन्, उनी हामीसँग रहँदा म एकदमै खुसी छु,’ टुचेलले भने ।

प्रकाशित मिति २८ भाद्र २०७६, शनिबार १०:४६
Loading...