यी दुई क्लब, जहाँ मेस्सी बार्सिलोना छाडेपछि जान सक्छन्

एजेन्सी, भदौ २८
स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लिआनेल मेस्सी सन् २००१ देखि लगातार बार्सिलोनामा छन् । सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका उनले निकट भविष्यमै बार्सिलोना छाड्न सक्ने चर्चा अहिले छ ।

तर, तीन दिनअघि मात्रै मेस्सीले एक अन्तर्वार्तामा बोल्दै बार्सिलोना आफ्नो घर भएको र आफूले घर नछाड्ने बताए । तर, त्यसका लागि आफूले अझै उपाधि जित्न आवश्यक रहेकोमा मेस्सीले जोड दिए ।

यद्यपि, कतिपय खेलपण्डितहरू भने अहिले पनि मेस्सीले २०२० मा बार्सिलोना छाड्न सक्ने सम्भावनालाई नर्कान सक्दैनन् । उनीहरूको दाबी छ कि, यदि यो सिजन बार्सिलोनाले च्याम्पियन्स लिग जित्न नसके मेस्सीले बार्सिलोना छाड्ने सम्भावना बढ्नेछ । यदि ढिलो–चाँडो मेस्सीले क्याम्प नोउ छाडे उनी कुन क्लबमा जालान् ? यदि त्यो दिन आए दुई विकल्प छन् ।

बार्सिलोनासँगको सम्झौताअनुसार कुनै पनि सिजन सकिएपछि मेस्सीले आफ्नो चाहनाअनुसार फ्रिमा क्लब छाड्न सक्छन् । तर, उनी युरोपभन्दा बाहिरका क्लबमा मात्रै जान पाउँछन् । यदि मेस्सीले बार्सिलोना छाडे उनी जान सक्ने पहिलो क्लब भनेको उनको बाल्यकालको अर्जेन्टिनी क्लब न्युवेल्स ओल्ड ब्वाइज हो ।

मेस्सी बार्सिलोना आउनुअघि सोही क्लबमा थिए । जहाँ उनले १९९४ देखि २००० सम्म गरी ६ वर्ष बिताए । त्यसपछि उनी १३ वर्षको उमेरमा बार्सिलोना पुगेका थिए । मेस्सीले न्युवेल्सबाटै फुटबल खेल्न सिकेका थिए ।

यसअघि पनि मेस्सीले पटक–पटक न्युवेल्सबाट फेरि एकपटक खेल्नु आफ्नो जीवनको सपनाजस्तै रहेको र त्यो सपना कुनै दिन पूरा हुने बताउँदै आएका छन् । यदि मेस्सीले आगामी वर्ष वा २–३ वर्षभित्रमा बार्सिलोना छाडे उनको नयाँ गन्तव्य अर्जेन्टिनी क्लब हुने सम्भावना प्रबल छ ।

बार्सिलोनाबाट सन्यास नलिएर त्यसअघि नै क्लब छाडे मेस्सी जान सक्ने अर्को क्लब भनेको अमेरिकी क्लब इन्टर मियामी फुटबल क्लब हो । इंग्लिस खेलाडी डेभिड ब्याकह्म मालिक रहेको सो क्लब पनि मेस्सीको आगामी गन्तव्य बन्न सक्छ ।

आफूसँग सुमधुर सम्बन्ध रहेका ब्याकहमले मेस्सी ढिलो–चाँडो आफ्नो क्लबमा हुने यसअघि सार्वजनिक रूपमै बताउँदै आएका छन् । ब्याकहमले त मेस्सीको बार्सिलोनासँग सन् २०२१ मा सम्झौता सकिएपछि आफ्नो क्लबमा भित्र्याउने योजना आफूसँग रहेको विभिन्न समयमा बताउँदै आएका छन् ।

बार्सिलोनाले पछिल्ला चार वर्ष युरोपियन उपाधि जित्न सकेको छैन । मेस्सीको अन्तर्राष्ट्रिय करिअर पनि यो बीचमा निकै कठिनाइ र आलोचनाबीच गुज्रिरहेको छ । फेरि पनि बार्सिलोनाबाट महत्त्वपूर्ण उपाधि जित्न नसके उनी आफैंले अर्को वर्ष क्लब छाड्ने सम्भावना रहने जानकारहरू बताउँछन् ।

प्रकाशित मिति २८ भाद्र २०७६, शनिबार ०६:५७
Loading...