‘रेकर्ड ब्रेकर’ रोनाल्डो : अली डेईको दुर्लभ रेकर्ड भंग !

एजेन्सी, भदौ २९
युरो कप छनौट खेलमा पोर्चुगलले केही दिनअघि आफ्नो चौथो खेलमा लिथुनियालाई उसकै घरमा १–५ ले हरायो । सो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरे । उनले १ गोल पेनाल्टीबाट गरे भने ३ गोल निकै दर्शनीय गोल गरे ।

रोनाल्डोले १५ मिनेटको बीचमा ३ गोल गरेका थिए । उनले खेलको सातौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ६१औं, ६५औं र ७६औं मिनेटमा गरी १५ मिनेटको बीचमा ३ गोल गरेका थिए ।

सो खेलपछि रोनाल्डोेले अन्तर्राष्ट्रिय मञ्चमा गरेको कूल गोल संख्या ९३ पुगेको छ । उनी सक्रिय खेलाडीहरूमध्ये सर्वाधिक धेरै देशका लागि गोल गर्ने खेलाडी हुन् ।

सो खेलको गोलसँगै रोनाल्डो फुटबल इतिहासमै अन्तर्राष्ट्रिय प्रतियोगितमध्ये ‘अफिसियल प्रतियोगिता’मा सर्वाधिक धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले इरानका लिजेन्ड खेलाडी अली डेईको रेकर्ड भंग गरेका हुन् । अली विश्व फुटबलको इतिहासमै सर्वाधिक धेरै १०९ गोल गर्ने खेलाडी हुन् । उनलाई रोनाल्डोले निकै नजिकबाट पछ्याइरहेका छन् ।

लिथुनियाविरुद्ध ४ गोलपछि रोनाल्डोले पोर्चुगलका लागि खेलेका अफिसियल प्रतियोगितामा गरेको गोल संख्या कूल ७४ पुगेको छ, यो सक्रिय खेलाडी मात्रै नभएर फुटबलको इतिहासकै सर्वाधिक धेरै अफिसियल अन्तर्राष्ट्रिय गोल संख्या हो ।

यसअघि यो रेकर्ड अलीको नाममा थियो । उनले इरानका लागि करिअरभरिमा कूल १०९ गोल गर्दा अफिसियल प्रतियोगितामा कूल ७३ गोल गरेका थिए । तर, अब उनलाई रोनाल्डोले उछिनेर उनको रेकर्ड भंग गरिदिएका छन् ।

अलीले सन् १९९३ देखि २००६ को बीचमा देशका लागि कूल १४९ खेल खेल्दै १०९ गोल गरेका थिए । जसमा उनले ७३ गोल औपचारिक प्रतियोगितामा गरेका छन् भने बाँकी गोल भने मैत्रीपूर्ण खेलमा गरेका थिए ।

यता, हाल पोर्चुगलका लागि ९३ गोल गरेका रोनाल्डोले हालसम्म औपचारिक प्रतिायोगितामा ७४ गोल गरेका छन् । उनले १९ गोल मात्रै मैत्रीपूर्ण खेलहरूमा गरेका छन् । रोनाल्डोको यो तथ्यांक ‘दुर्लभ’ मानिन्छ ।

प्रकाशित मिति २९ भाद्र २०७६, आईतवार ०८:५८
Loading...