भ्यालेन्सियाका मार्सेलिनो यो सिजन बर्खास्त हुने पहिलो प्रशिक्षक

एजेन्सी, भदौ २५
स्पेनिस क्लब भ्यालेन्सियाले आफ्ना प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गरेको छ । क्लबले आज अफिसियल रूपमा स्पेनिस प्रशिक्षकलाई प्रमुख प्रशिक्षकबाट बर्खास्त गरेको हो । मार्सिलिनो दुई वर्षअघि प्रमुख प्रशिक्षका नियुक्त भएका थिए । उनको नेतृत्वमा भ्यालेन्सियाले गत सिजन बार्सिलोनालाई हराएर कोपा डेल रे फुटबलको उपाधि जितेको थियो ।

तर, यो सिजन ला लिगामा भ्यालेन्सियाले कमजोर प्रदर्शन गरेको छ । लिगका सुरुआती ३ खेलबाट भ्यालेन्सियाले मात्रै ४ अंक जोडेको छ । स्पेनिस रिपोर्टअनुसार मार्सेलिनोको क्लबका मालिकसँग खटपट भएपछि उनी बर्खास्तमा परेका हुन् । भ्यालेन्सियाले आज एक विज्ञप्ति जारी गर्दै मार्सेलिनोले क्लबमा रहुन्जेल गरेको कडा मेहनतको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

मार्सेलिनोको नेतृत्वमा गत सिजन भ्यालेन्सिया ला लिगाको शीर्ष चारमा रहेर यस सिजन च्याम्पियन्स लिग खेल्दैछ । गत सिजन ला लिगामा सुरुआती ४ खेल सकिँदा लिगको १७औं स्थानमा पुगेको भ्यालेन्सिया सिजनको अन्तिम खेलपछि चौथो स्थानमा रहेर च्याम्पियन्स लिगका छानिएको थियो ।

तर, गत सिजन क्लबलाई कोपा डेल रे कपको उपाधि जिताएका तथा क्लबलाई च्याम्पियन्स लिगमा छनौट गराउन योगदान दिएका प्रशिक्षकलाई क्लबले बर्खास्त गरेको छ । भ्यालेन्सियाले ३ दिनपछि ला लिगामा सिजनको चौथो खेल बार्सिलोनासँग उसकै घरमा खेल्दैछ ।

अघिल्लो दिन मात्रै मार्सेलिनोले एक अन्तर्वार्तामा बोल्दै बार्सिलोनाको घरमा हुने खेलका लागि आफूहरू तयार रहेको र बार्सिलोनालाई हराएर ३ अंक जोड्ने दाबी गरेका थिए । तर, त्यसो भनेको एक दिनपछि नै मार्सेलिनो बर्खास्तीमा परे ।

प्रकाशित मिति September 11, 2019
Loading...