एकै खेलमा ४ गोल गर्दा रोनाल्डोको नाममा कीर्तिमानको ओइरो : यी हुन् पाँच कीर्तिमान

काठमाडौं, भदौ २५
युरो कप छनौट खेलमा पोर्चुगलले गत राति आफ्नो चौथो खेलमा लिथुनियालाई उसकै घरमा १–५ ले हरायो । सो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरे । उनले १ गोल पेनाल्टीबाट गरे भने ३ गोल निकै दर्शनीय गोल गरे ।

रोनाल्डोले १४ मिनेटको बीचमा ३ गोल गरेका थिए । उनले खेलको सातौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ६१औं, ६५औं र ७६औं मिनेटमा गरी १४ मिनेटको बीचमा ३ गोल गरेका थिए ।

सो खेलमा रोमाञ्चक ह्याट्रिकपछि रोनाल्डोका नाममा एकसाथ थुप्रै रेकर्ड बनेका छन् । रोनाल्डो अब युरो कप फुटबलको छनौट चरणमा सर्वाधिक गोल गर्ने खेलाडीदेखि लिएर युरोपियन प्रतियोगिता सर्वाधिक धेरै ४० देशविरुद्ध गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

गत राति ४ गोल गरेसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा गरेको गोल संख्या कूल ९३ पुगेको छ । उनी यो समयका सक्रिय फुटबलरमध्ये सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनीपछि दोस्रो स्थानमा भारतका कप्तान सुनील क्षेत्री ७२ गोलसहित छन् भने अर्जेन्टिनाका लिओनल मेस्सी ६८ गोलसहित तेस्रो स्थानमा छन् ।

रोनाल्डो अब अन्तर्राष्ट्रिय १०० गोलको कोसेढुंगाबाट मात्रै ७ गोलले टाढा छन् । सम्भवतः उनले युरो कप छनौट खेल दौरान नै १०० गोलको कोसेढुंगा पूरा गर्नेछन् । अहिले इरानका अवकासप्राप्त अली डाईको नाममा सर्वाधिक १०९ गोलको रेकर्ड छ । रोनाल्डो अब सो रेकर्डबाट मात्रै १६ गोलले टाढा छन् । रोनाल्डोले पोर्चुगलका लागि खेलेका पछिल्ला २७ खेलबाट कूल ३२ गोल गरेका छन् ।

गत रातिको खेलबाट ४ गोल गरेपछि रोनाल्डो नाममा अन्तर्राष्ट्रिय फुटबलका बनेका मुख्य पाँच रेकर्ड यस्ता छन् :

छनौट खेलमा २५ गोल :

गत रातिको ४ गोलसँगै रोनाल्डोले युरो पक छनौटमा मात्रै २५ गोल गरेका छन्, जुन अन्य कुनै पनि खेलाडीको भन्दा सर्वाधिक धेरै हो । यसअघि यो रेकर्ड आयरल्यान्डका रोवी किनको नाममा थियो, उनले छनौट चरणमा २३ गोल गरेका थिए ।

बढी उमेरमा बढी ह्याट्रिक :

रोनाल्डोले गत रातिको ह्याट्रिकसँगै अन्तर्राष्ट्रिय फुटबलमा कूल ८ ह्याट्रिक पूरा गरेका छन् । जसमा उनले ६ ह्याट्रिक आफू ३० वर्ष लागेपछिको उमेरमा गरेका छन् । र, यो कुनै पनि खेलाडीले बढ्दो उमेरमा अन्तर्राष्ट्रिय मञ्चमा गरेको सर्वाधिक धेरै ह्याट्रिक संख्या हो ।

दशौंपटक ४ गोल :

हाल ३४ वर्ष पुगेका रोनाल्डोले आफ्नो लामो करिअर दौरान दशौंपटक एकै खेलमा ४ गोल गरेका छन् । उनले यसअघि ९ पटक एकै खेलमा ४ गोल गरेका थिए । यो क्लब र देशको दुवैको तथ्यांक हो ।

४० युरोपियन देशविरुद्ध गोल गर्ने पहिलो खेलाडी :

गत राति लिथुनियाविरुद्ध ४ गोल बर्साएसँगै रोनाल्डो युरोपका ४० फरक–फरक देशविरुद्ध गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यस्तो रेकर्ड यसअघि कुनै पनि खेलाडीको नाममा थिएन ।

३८ टिमविरुद्ध ४ गोल :

लिथुनियालाई ४ गोल गरेसँगै रोनाल्डोले एकै खेलमा ४ गोल गरेको खेल संख्या ३८ पुगेको छ । यो बार्सिलोनाका लिओनल मेस्सीको भन्दा निकै राम्रो तथ्यांक हो । मेस्सीले ३१ पटक एकै खेलमा ४ गोल गरेका छन् ।

प्रकाशित मिति २५ भाद्र २०७६, बुधबार ११:५७
Loading...