युरो कप छनौट : ८ गोल भएको खेलमा इंग्ल्यान्डको सहज जित

काठमाडौं,, भदौ २५
युरो कप छनौट खेलमा इंग्ल्यान्डले सहज जित निकालेको छ । नेपाली समयअनुासर बुधबार बिहान भएको खेलमा इंग्लिस टोलीले फिफा वरीयतामा १२०औं स्थानमा रहेको कोसोभोलाई ५–३ ले हराएको हो । गोलको वर्षा भएको खेलमा दुवै टोलीबाट गरेर कूल ८ गोल भएका थिए ।

इंग्ल्यान्डको घरमा पाहुना टोलीले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेको थियो । सो गोल भोलान बेरिसाले गरेका थिए । त्यसपछि इंग्ल्यान्डले ७ मिनेटमै बराबरी गोल फर्कायो । सो गोल रहिम स्टर्लिङले गरे ।

त्यसपछि खेलको १९औं मिनेटमा इंग्ल्यान्डका लागि ह्यारी केनले गोल गरे भने खेलको ३८औं मिनेटमा कोसोभोले आत्मघाती गोल हान्यो । मार्गिम भोज्भोडाले आफ्नै पोस्टमा गोल गरेपछि इंग्ल्यान्ड ३–१ ले अघि रह्यो । त्यसपछि पहिलो हाफको अन्तिम ३ मिनेटको बीचमा युवा फरवार्ड जोडर्न सान्चोले २ गोल गरे । उनले खेलको ४४औं र इन्जुरी समयको पहिलो मिनेटमै गोल गरेपछि इंग्ल्यान्डले पहिलो हाफमा ५–१ को लिड लियो ।

त्यसपछि दोस्रो हाफमा पाहुना टोलीले सुरुबाटै खेलमा फर्किने संकेत देखायो । उसका लागि खेल सुरु भएको ४ मिनेटमै भालोनले नै व्यक्तिगत दोस्रो गोल गरे । त्यसको ६ मिनेटमै कासोभोले पेनाल्टी पायो । जसमा भेडाट माक्र्वीले गोल गर्दै खेललाई ५–३ मा झारे । तर, त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल इंग्ल्यान्डले जित्यो ।

यो जितपछि इंग्ल्यान्डले ४ खेलमा शतप्रतिशत जित निकालेर समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । ५ खेलबाट ९ अंक जोडेको चेक रिपब्लिक ९ अंकसहित दोस्रोमा छ । ८ अंक भएको कोसोभो तेस्रोमा छ ।

अन्य खेलमा अल्बानियाले आइसल्यान्डलाई ४–२ ले हराउँदा टर्कीले माल्डोभालाई ०–४ ले हरायो । त्यस्तै, सर्बियाले लक्जेमबर्गलाई ३–१ ले हराउँदा चेक रिपब्लिकले मोन्टेनेग्रोलाई ३–० ले हरायो ।

प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार २१:५१
Loading...