रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा नयाँ कोसेढुंगा नजिक

एजेन्सी, भदौ २४
सन् २०१६ को युरो कप च्याम्पियन पोर्चुगलले आज राति २०२० को युरो छनौट खेलमा लिथुनियासँग खेल्दैछ । समूह ‘बी’ अन्तर्गत पोर्चुगलले आफ्नो तेस्रो छनौट खेल्न लागेको हो । सो खेल खेल्दा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भने अन्तर्राष्ट्रिय फुटबलमा नयाँ कोसेढुंगासामु हुनेछन् । रोनाल्डो निकट भविष्यमै १०० अन्तर्राष्ट्रिय गोलको रेकर्ड नजिक छन् ।

रोनाल्डोले हालसम्म देशका लागि ८९ गोल गरिसकेका छन् । ३ दिनअघि सर्बियाविरुद्ध भएको खेलमा उनले १ गोल गरेर गोल संख्या ८९ पुर्याएका हुन् । आज राति लिथुनियासँग अवे मैदनमा उत्रिँदा रोनाल्डो करिअरको ९०औं अन्तर्राष्ट्रिय गोलको खोजीमा हुनेछन् ।

यदि आज राति उनले कम्तीमा १ गोल गरे उनको देशका लागि गोल संख्या ९० पुग्नेछ र उनी शतकीय गोलभन्दा मात्रै १० गोलले टाढा हुनेछन् । रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । रोनाल्डो समकालीन फुटबलमा सक्रिय खेलाडीमध्ये सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । उनीपछि दोस्रो नम्बरमा भारतीय कप्तान सुनील क्षेत्री छन् भने तेस्रो नम्बरमा अर्जेन्टिनाका लिओनल मेस्सी छन् ।

आज राति हुने पोर्चुगल र लिथुनियाको खेल राति १२ः३० बजेबाट सुरु हुनेछ । सो खेल सोनी नेटवर्कका टिभी च्यानल, सोनी लिभ डटकम वेबसाइट तथा सोनी लिभ मोबाइल एपबाट लाइभ हेर्न सकिन्छ ।

प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार १६:०१
Loading...