‘मेस्सीलाई रोक्न’ भ्यालेन्सियाका प्रशिक्षकको यस्तो ‘जुक्ति’

एजेन्सी, भदौ २४
स्पेनिस ला लिगा फुटबलमा आगामी शनिबार बार्सिलोना भ्यालेन्सियाको सामना गर्दैछ । सो खेलका लागि साबिक च्याम्पियनले भ्यालेन्सियालाई आफ्नो घर क्याम्प नोउमा स्वागत गर्दैछ । यसअघि तीन खेलमा एक खेल हारेर एक खेल बराबरी गर्दै एक खेल मात्रै जितेको बार्सिलोनाका लागि यो खेल कठिन मानिएको छ ।

किनभने, भ्यालेन्सिया ला लिगामा बलियो टिम हो । र, ऊसँग निकै मजबुत रक्षापंक्तिसमेत छ । गत सिजन भ्यालेन्सियाले बार्सिलोनालाई नै फाइनलमा हराएर कोपा डेल रे उपाधि जितेको थियो । यसपटक ला लिगाको पहिलो भेट गर्न क्याम्प नोउ पुग्दा उसको दाउ हुनेछ– बार्सिलोनाको घरबाट ३ अंक खोस्ने ।

सो खेललाई लिएर भ्यालेन्सियाका प्रशिक्षकले विशेष तयारी गरिरहेका छन् । उनले खास गरी बार्सिलोनाका कप्तान लिओनल मेस्सीलाई कसरी रोक्ने भनेर आफ्ना खेलाडीलाई विशेष प्रशिक्षण दिइररहेका छन् । उनले क्याम्प नोउ जानुअघि आफ्नो रक्षापंक्ति सम्हाल्ने खेलाडीलाई विशेष तयारी गराइरहेको बताएका छन् ।

बार्सिलोनाका कप्तान मेस्सीले यो सिजन खेल्न पाएका छैनन् । चोटसँग जुधिरहेका उनी यसै खेलबाट यो सिजनको पहिलो खेल खेल्न मैदान फर्किने सम्भवना छ । यदि सो खेलमा मेस्सी मैदान फर्किए भ्यालेन्सियाका लागि चुनौती बढ्नेछ ।

भ्यालेन्सियाका प्रशिक्षक मार्सेलिनोले गत वर्ष बार्सिलोना र मेस्सीलाई कोपाको फाइनलमा रोकेर देखाइसकेका छन् । र, यसपटक पनि यस्तै कथा दोहोर्याउने दाउमा उनी छन् । ‘यो खेल दुवै टिमका लागि महत्त्वपूर्ण छ । जब हामी क्याम्प नोउ जान्छौं, हामीसँग निकै राम्रो तयारी हुनेछ,’ मार्सेलिनोले भनेका छन्, ‘बार्सिलोनासँग एकसे एक खेलाडी छन् । तर, हामी आफ्नो काम गर्न तयार छौं ।’

मार्सेलिनोले मेस्सी ठीक भएर मैदान फर्किए खेल अझ रोचक हुने बताए । ‘मेस्सी यस खेलमा खेल्नेमा म विश्वस्त छु । उनीलाई रोक्न मैले मेरा खेलाडीलाई अतिरिक्त प्रशिक्षण दिइरहेको छु । हामी चुस्त रणनीतिसाथ मेस्सीलाई मार्क गर्नेछौं,’ मार्सेलिनोले थपे ।

स्पेनिस मिडियाका अनुसार मंगलबार मार्सेलिनोले आफ्ना रक्षापंक्तिका खेलाडीलाई मेस्सीलगायत खेलाडीको आक्रमण रोक्न पर्खाल ४ जना डिफेन्डरको पर्खाललाई कसरी मजबुत बनाउनेदेखि लिएर कसरी सही ट्याकल गर्ने कुरामा खेलाडीलाई निर्देश गरेका छन् ।

भ्यालेन्सिया हाल अंक तालिकामा ४ अंकसहित १०औं स्थानमा छ । उसले एक खेल हारेर एक खेल जित्दा एक खेल बराबरी गरेको छ । बार्सिलोना समान ४ अंकसहित आठौं स्थानमा छ । लिगमा यी दुवै क्लबको अवस्था एकै छ । तर, गोलअन्तरमा बार्सिलोना अगाडि छ ।

प्रकाशित मिति September 10, 2019
Loading...