विश्वकप छनौट : अन्जान चम्किँदा चाइनिज ताइपेईमाथि नेपालको सहज जित

काठमाडौं, भदौ २४
युवा खेलाडी अन्जान बिस्ट चम्किएपछि नेपालले विश्वकप छनौट खेलमा पहिलो जित हात पारेको छ । सन् २०२२ को कतार विश्वकपका लागि जारी दोस्रो चरणको छनौट खेलअन्तर्गत नेपालले आज चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा ०–२ को हार चखाएको हो ।

फिफा वरीयतामा आफूभन्दा ४१ स्थान माथि रहेको ताइपेईलाई हराएर नेपालले पुनः एकपटक आफूलाई साबित गरेको छ । फिफाको नयाँ वरीयतामा नेपाल हाल १६६औं स्थानमा छ भने ताइपेई १२५औं स्थानमा रहेको छ ।

यसअघि पहिलो खेलमा फराकिलो हार व्यहोरेर चर्को दबाबबीच अवे मैदानमा उत्रिएको नेपाललाई जिताउन अन्जान नायक बने । प्रशिक्षक योहान कालिनले आजको खेलमा पहिलो रोजाइमा राखेका उनले टिमलाई जिताउन एक्लैले २ गोल गरे ।

नेपालले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेर घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । नेपालका लागि अन्जानले फ्रि किकमार्फत् सुन्दर गरेपछि नेपालले पहिलो हाफमा ०–१ को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा खेलमा फर्किन प्रयासरत ताइपेईले लगातार नेपालमाथि दबाब बढायो । तर, नेपालका गोलरक्षक किरणकुमार चेम्जोङले उत्कृष्ट बचाउ गर्दा ताईपेई निराश बन्यो । आफ्नै घरमा चर्को दबाबमा देखिन्थ्यो ।

दोस्रो हाफमा रक्षात्मक खेल खेलेको नेपालले खेलको ६३औं मिनेटमा दोस्रो गोल हान्यो । सो गोल अन्जानले नै गरे । रवी पासवानले मैदानको माथिल्लो कुनाबाट दिएको आकर्षक क्रस पासमा अनमार्क रहेका अन्जानले आकर्षक प्रहार गर्दै बललाई जाली चुमाएपछि नेपाल खेलमा ०–२ ले अघि रह्यो । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभएपछि खेल नेपालले ०–२ ले जित्यो ।

अब यो जितसँगै नेपालले दुई खेलमा एक खेल जितेर खातामा ३ अंक जोडेको छ । नेपाल समूह ‘बी’को तेस्रो स्थानमा समेत उक्लिएको छ । यसअघि नेपाल पहिलो खेलमा कुवेतसँगै उसकै घरमा ७–० ले हारेको थियो । यो जितले नेपालको अघिल्लो हारमा मल्हमसमेत लगाएको छ ।

प्रकाशित मिति September 10, 2019
Loading...