आगामी वर्ष एमबाप्पे भित्र्याउन युभेन्टसको ‘विशेष’ योजना

एजेन्सी, भदौ २४
इटालियन क्लब युभेन्टसले आगामी सिमर सिजनमा यो समयका युवा स्टार फ्रेन्च फरवार्ड केलियन एमबाप्पे अनुबन्ध गर्ने योजना बनाइरहेको इटालियन मिडियाले रिपोर्ट प्रकाशित गरेका छन् । हाल २० वर्ष पुगेका एमबाप्पेलाई आगामी समरमा अनुबन्ध गर्न युभेन्टसले विशेष योजना बनाइरहेको छ ।

खबरअनुसार युभेन्टसले गोल मेसिन युवा फरवार्ड अनुबन्ध गर्न आफ्ना अर्जेन्टिनी युवा खेलाडी पाउलो डिबाला दिने र आकर्षक रकमसमेत थप्ने प्रस्ताव पिएसजीसँग गर्नेछ । पिएसजी अहिले पनि युभेन्टसका डिबालामाथि इच्छुक रहेको छ । सो कुरा बुझेको युभेन्टस पिएसजीसँग एमबाप्पेका लागि डिबाला डिल गर्ने गर्ने योजनामा छ ।

पिएसजीले हालै सकिएको समर सिजनमा नेइमार बेच्न तयार रहे पनि स्पेनिस बार्सिलोनाले पिएसजीको मागअनुसार रकम दिन तयार नहुँदा नेइमार यो सिजन पिएसजीमै रहने पक्का छ । यदि अर्को समरमा नेइमारले अन्य क्लब जान पिएसजी छाडे फ्रन्च च्याम्पियन क्लबले आफ्ना प्रमुख युवा खेलाडी बेच्ने सम्भावना भने न्यून छ ।

यदि त्यसो भए पनि युभेन्टसले पिएसजीलाई एमबाप्पेका लागि मोटो बजेट खर्चिनुपर्ने हुनसक्छ । हाल एमबाप्पेको मार्केट भ्यालु २२० मिलियन युरो आसपास छ । तर, पिएसजी एमबाप्पेका लागि ३०० मिलियनभन्दा कम मूल्यको अफर सुन्न तयार देखिँदैन ।

एमबाप्पे भित्र्याउन स्पेनिस क्लब रियल मड्रिड पनि आगामी सिजन हात धोएर लाग्ने पक्का छ । रियल एमबाप्पेलाई भित्र्याएर टोलीमा गोलकर्ता खेलाडी सुरक्षित गर्ने कसरतमा छ । क्रिस्टियानो रोनाल्डोलाई बेचेपछि रियल लगातार गोलको खडेरीबाट गुज्रिँदै आइरहेको छ । र, त्यसका लागि उसले एमबाप्पेलाई सबैभन्दा उचित खेलाडी ठानेको छ ।

प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार १२:२८
Loading...