युरो कप छनौट : इस्टोनियामाथि नेदरल्यान्ड्सको शानदार जित

काठमाडौं, भदौ २४
युरो कप छनौट खेलमा नेदरल्यान्ड्सले प्रभावशाली जित निकालेको छ । गत राति भएको खेलमा डच टिमले अवे मैदानमा इस्टोनियालाई ०–४ ले स्तब्ध बनायो । यसअघि नेदरल्यान्ड्सले जर्मनीलाई पनि उसकै घरेलु मैदानमा हराएको थियो ।

अवे मैदानमा नेदरल्यन्ड्सलाई जिताउन राय बाबेलले २ गोल गरे । उनले खेलको १७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सो गोलको मदतमा डच टिम पहिलो हाफमा ०–१ को अग्रता लियो ।

त्यसपछि दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै नेदरल्यान्ड्सका लागि बाबेलले नै व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि खेलको ७६औं मिनेटमा मेम्फिस डिपेले गोल गरेपछि डच टिम ०–३ ले अघि रह्यो । फेरि खेलको ८७औं मिनेटमा जर्जिन्हो विज्नाल्डुमले गोल गरेपछि खेल नेदरल्यान्ड्सले ०–४ ले जित्यो ।

यो जितपछि डच टिम ४ खेलबाट ९ अंक जोडेर समूह ‘सी’को तेस्रो स्थानमा रहेको छ । शर्ष स्थानमा १२ अंक भएको जर्मनी र १२ नै अंक भएको नर्दन आयरल्यान्ड दोस्रो स्थानमा छ ।

प्रकाशित मिति September 10, 2019
Loading...