मेस्सीको ‘फ्रि किक कला’बारे म्याराडोनाको ‘रोचक’ टिप्पणी

एजेन्सी, भदौ २३
स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सी फ्रि किक गोल गर्ने शैली र क्षमताका कारण चर्चित छन् । पछिल्ला वर्ष फ्रि किक गोलमा उनको झन् चमत्कारिक शैली देखिँदै आएको छ । गत वर्ष च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलविरुद्ध गरेको फ्रि किक गोल उनका चर्चित फ्रि किक गोलमध्ये धेरैले सम्झिनेमा पर्छ ।

गत सिजन उनले फ्रि किकबाट मात्रै ७ गोल गरेका थिए, जुन उनको लामो करिअरमै एकै सिजनमा गरेको सर्वाधिक धेरै फ्रि किक गोल थियो । यस सिजन उनले हालसम्म खेल्न पाएका छैनन् ।

मेस्सीको फ्रि किक गोल गर्ने शैली र क्षमताको विषयमा उनका राष्ट्रिय टोलीका पूर्वप्रशिक्षकसमेत रहेका अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोनाले रोचक टिप्पणी गरेका छन् । हालै अर्जेन्टिनी क्लब गिम्नासिया डे ला प्लाटा क्लबको प्रशिक्षकमा पनयुक्त भएका उनले मेस्सीले गोल कसरी गर्ने र फ्रि किक हान्ने भनेर आफूबाट सिकेको र अहिले सोहीअनुसार गरिरहेको बताएका छन् ।

बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका म्याराडोनाले सन् २००८ देख २०१० सम्म अर्जेन्टिनाको प्रमुख प्रशिक्षक रहेर मेस्सीलाई प्रशिक्षण गरेका थिए । म्याराडोनाकै पालामा मेस्सी राष्ट्रिय टिमको कप्तान बनेका थिए ।

नयाँ क्लबको प्रशिक्षक बनेपछि म्याराडोनाले मेस्सीले आफ्नो करिअरमा बनाएका अद्भुत रेकर्ड र गोल गर्ने क्षमताको जस आफूलाई मिल्नुपर्ने आशय राखे । ‘मैले मेस्सीजस्तो उत्कृष्ट खेलाडीलाई सिकाएँ । यद्यपि, यो कुरा मलाई कसैले भन्न सक्दैन । उनी साँच्चै चमत्कारिक थिए,’ म्याराडोनाले भनेका छन् ।

सुरुआती दिनमा मेस्सीले राम्ररी फ्रि किक हान्न नसक्ने पनि म्याराडोनाले बताए । ‘त्यसबेला उनीमा फ्रि किक हान्ने समस्या थियो । जतिबेला हामीले हरेक प्रशिक्षण सक्थ्यौं, उनलाई हामी त्यसपछि पनि राख्थ्यौं । किनभने, उनलाई म त्यसपछि थप कुरा सिकाउँथें । त्यसपछि उनले फ्रि किक सही निशानामा हान्न थाले,’ म्याराडोनाले भने ।

म्याराडोनाले आफूले मेस्सीलाई कसरी फ्रि किक हान्ने भनेरै नसिकाए पनि मेस्सीले आफूसँग पटक–पटक फ्रि किकबाट गोल कसरी गर्ने भनेर सोध्ने गरेको बताए । ‘मैले उनलाई फ्रि किक गोल कसरी गर्ने भनेर नै सिकाइनँ । तर, उनले मलाई यो सोध्थे कि– मैले आफ्नो करिअरमा फ्रि किक कसरी हान्थें र गोल कसरी गर्थें,’ म्याराडोनाले भने ।

प्रकाशित मिति September 9, 2019
Loading...