‘आफूलाई पागल बनाइएको’ भन्दै टर स्टेगेनले दुखाए मन, यसरी पोखे गुनासो

एजेन्सी, भदौ २३
स्पेनिस बार्सिलोनाका जर्मन गोलरक्षक मार्क आन्द्रे टर स्टेगेन क्याम्प नोउमा पहिलो रोजाइका गोलकिपर हुन् । उनी केही वर्षयता बार्सिलोनाको पहिलो रोजाइमा रहेर उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । उनी वर्ष २०१९ का लागि फिफाको वर्षको उत्कृष्ट गोलकिपरका लागि टप–३ मा पनि परेका छन् ।

तर, जर्मनीको राष्ट्रिय टोलीमा भने टर स्टेगेनका लागि अझै पनि टोलीमा पर्नु भाग्यकै खेलजस्तो भइरहेको छ । उनी लगातार राष्ट्रिय टोलीको पहिलो रोजाइबाट बाहिर रहँदै आएका छन् । ठूला प्रतियोगितादेखि लिएर मैत्रीपूर्ण खेलमा समेत उनको बाटोमा पहिलो रोजाइका गोलकिपर म्यानुल निउर उभिएका छन् । र, हालसम्म प्रशिक्षक जाओचिम लोले टर स्टेगेनलाई पहिलो रोजाइमा आवश्यक ठानेका छैनन् ।

अघिल्लो वर्ष गम्भीर चोट बोकेका निउर ठीक भएर फर्किए पनि उनी आफ्नो उत्कृष्ट लयमा छैनन् । रसिया विश्वकप र त्यसपछि युइएफए नेसन्स लिगको प्रदर्शनपछि उनको आलोचनासमेत भएको थियो । तैपनि, उनी जर्मनीको पोस्ट सम्हाल्ने पहिलो रोजाइका गोलकिपर हुन्, जो बार्यन म्युनिखबाट व्यावसायिक फुटबल खेल्छन् ।

तर, फिफाको उत्कृष्ट गोलकिपरको अवार्ड मात्रै नभएर गोलकिपर विधामा अन्य सबैजसो अवार्डका लागि प्रतिस्पर्धामा रहने बार्सिलोनाका टर स्टेगेन यतिबेला राष्ट्रिय टोलीको पहिलो रोजाइमा नपर्दा निकै दुःखी देखिएका छन् । उनले सो कुरा आफैंले व्यक्त गरेका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले आफू संसारको सबैभन्दा ठूलामध्येको एक क्लबको पहिलो रोजाइको गोलकिपर भए पनि राष्ट्रिय टोलीमा ठाउँ नपाउँदा सो कुराले आफूलाई ‘अलि पागलजस्तै बनाउने’ बताएका छन् ।

टर स्टेगेनले आफूले यो समय उत्कृष्ट प्रदर्शन गरिरहेको भए पनि राष्ट्रिय टिमको पोस्ट सम्हाल्ने जिम्मेवारी नपाउँदा आफू ज्यादै निराश भएको बताए । ‘अवश्य पनि, यो कुराले मलाई अलि पागल बनाउँछ । जब तपाईं आफ्नो उत्कृष्ट प्रदर्शन टिमलाई दिन सक्नुहुन्छ तर तपाईं जहाँ हुनुपर्ने हो, त्यहाँ हुन नपाउँदा दुःख लाग्छ ।’

टर स्टेगेनले आफू एक राम्रो गोलकिपरमा रूपमा स्थापित भए पनि देशका लागि खेल्न समय नपाउनु आफ्ना लागि पीडादायी हुने बताए । ‘मेरो विचारमा मैले मेरो आवश्यकता र महत्त्व साबित गरिसकेको छु । त्यसैले म म पहिलो रोजाइमा रहेर खास उद्देश्य पूरा गर्न चाहन्छु । राष्ट्रिय टिमको पहिलो रोजाइको गोलकिपरमा आफूलाई पाउने समयको पर्खाइमा म छु, यो पर्खाइ विगतदेखिकै हो,’ उनले भने, ‘अझै त्यो समयका लागि कति पखिर्नुपर्छ, मलाई थाहा छैन ।’

सन् २०१२ मा जर्मनीको राष्ट्रिय टोलीमा डेब्यु गरेका २७ वर्षीय टर स्टेगेनले हालसम्म मात्रै २२ खेल खेलेका छन् । त्यसमा पनि उनले अधिकांश मैत्रीपूर्ण र कम महत्त्वका खेल खेलेका छन् ।

प्रकाशित मिति September 9, 2019
Loading...