सान्चेजले बार्सिलोनालाई दिए कडा चुनौती

एजेन्सी, भदौ २३
युरोपियन च्याम्पियन्स लिगमा यसपटक समूह चरणमा स्पेनिस बार्सिलोना कठिन समूहमा परेको छ । उसले आफ्नो समूहमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड र इटालियन इन्टर मिलानको सामना समूह चरणमै गर्नुपर्ने भएको छ । यी दुवै टिम बार्सिलोनाका लागि कठिन प्रस्तिपर्धी हुन् ।

च्याम्पियन्स लिग सुरु हुन सातादिन बाँकी छँदा मिलानका नयाँ खेलाडी एलेक्स सान्चेजले भने बार्सिलोनालाई चुनौती दिएका छन् । यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लोनमा मिलान पुगेका चिलियन खेलाडीले बार्सिलोनालाई आफूहरूले दुवै खेलमा हराउन सक्ने दाबी गरेका छन् ।

हाल अन्तर्राष्ट्रिय ड्युटीमा रहेका उनले आफूहरू कठिन समूहमा परे पनि बार्सिलोनाबाट आफूहरू नडराउने बताए । विगतमा बार्सिलोनाबाट समेत खेलिसकेका सान्चेजले बार्सिलोना हराउनै नसकिने टिम नभएको पनि बताए । ‘हामी कठिन समूहमा छौं, जहाँ बार्सिलोनाजस्तो टिम पनि छ,’ उनले भने, ‘तर, हामी डराएका छैनौं । मलाई लाग्छ– हामी बार्सिलोनालाई दुवै लेगमा हराउन सक्छौं ।’

यसपटक आफूहरूसँग नयाँ प्रशिक्षक र नयाँ खेलाडीसमेत भएकाले टिम निकै बलियो रहेको सान्चेजले बताए । ‘यस टिममा यसपटक नयाँ प्रशिक्षक छन्, नयाँ खेलाडी छन् । यी कुराले अवश्य पनि टिममा नयाँ कुरा हुन्छन्,’ सान्चेजले भने, ‘हामी च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्न चाह्न्छौं । ’

सान्चेजले सन् २०११ देखि २०१४ सम्म बार्सिलोनाबाट खेलेका थिए । उनले सो क्लबका लागि ८८ खेलबाट ३९ गोल गरेका थिए ।

यस सिजनको च्याम्पियन्स लिग सेप्टेम्बर १७ बाट सुरु हुँदैछ । समूह ‘एफ’मा रहेको मिलानले समूह चरणमा बार्सिलोनासहित डर्टमुन्ड र स्लाभिया प्रहारको सामना गर्नेछ । मिलान र बार्सिलोनाको पहिलो लेगको खेल नोभेम्बर ९ मा बार्सिलोनाको घरमा सुरु हुनेछ ।

प्रकाशित मिति September 9, 2019
Loading...