अन्तर्राष्ट्रिय फुटबलमा रामोसको अर्को कीर्तिमान

एजेन्सी, भदौ २३
स्पेनको राष्ट्रिय फुटबल टोलीका कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी अब स्पेनका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी बनेका छन् भने विश्वभरिमै धेरै खेल्ने तेस्रो खेलाडी बनेका छन् ।

उनले स्पेन तथा विश्व फुटबलमै सर्वाधिक सफल गोलकिपर कहलिएका इकर कासिल्लासको सर्वाधिक धेरै खेलको रेकर्डसँग बराबरी गरेका हुन् । यसअघि रामोसले स्पेनका लागि सबैभन्दा बढी खेल जित्ने रेकर्ड आफ्नो नाममा लेखाइसकेका छन् ।

युरो कप छनौटमा गत राति स्पेनले फारोए आइसल्यान्डलाई ४–० ले हराउँदा रामोस स्पेनका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका हुन् । उनले कासिल्लाससँग सर्वाधिक खेलको संख्या बराबरी गरेका हुन् । रामोसले सो टिमविरुद्ध खेल्दा देशका लागि १६७औं खेल खेले, यसअघि त्यत्ति नै खेल कासिल्लासले मात्रै खेलेका थिए ।

यसअघि रामोस सन् २०१३ मै स्पेनका लागि १०० खेल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेर रेकर्ड कायम गरिसकेका थिए । केही समयअघि मात्रै उनले स्पेनका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा आफूलाई दशौं नम्बरमा राखेर रेकर्ड बनाएका थिए ।

विश्व फुटबलमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान अहमद हसनको नाममा छ । उनी इजिप्टका हुन् । उनले देशका लागि १८४ खेल खेलेका छन् । तर, युरोपमा भने यो कीर्तिमान इटालीका गोलकिपर जियानलुइजी बुफोनको नाममा रहेको छ । उनले देशका लागि १७६ खेल खेलेका छन् ।

अब रामोस बुफोनभन्दा ९ र हसनभन्दा मात्रै १७ खेलले पछि छन् । रामोसले स्पेनका लागि हालसम्म कूल २१ गोल गरेका छन् । उनी स्पेनका लागि सर्वाधिक गोल गर्ने दशौं खेलाडी हुन् । त्यत्ति मात्रै हैन, रामोस विश्व फुटबलमै सर्वाधिक धेरै गोल गर्ने डिफेन्डरमा समेत पर्छन् ।

प्रकाशित मिति September 9, 2019
Loading...