बार्सिलोना–पोर्चुगललाई ठूलो झट्का : सेमेडोले रुँदै मैदान छाडे

एजेन्सी, भदौ २२
टोलीका प्रमुख डिफेन्डर नेल्सन सेमेडो घाइते भएपछि पोर्चुगल तथा स्पेनिस बार्सिलोना क्लबलाई झट्का लागेको छ । युरो कप छनौटमा गत राति पोर्चुगलले अवे मैदानमा सर्बियासँग खेल्नेक्रममा सेमेडो घाइते भएका थिए ।

खेलको ६५औं मिनेटमा टोलीका राइट ब्याक घाइते भएका थिए । उनमाथि सर्बियाका एलेक्ससान्ड्र कोलोराभले गम्भीर फउल गरेका थिए । चोटपछि उनलाई मैदानमै प्रारम्भिक उपचारपछि स्ट्रेचरमा हालेर मैदानबाट निकालिएको थियो । ट्याकलमा परेपछि समेडो निकै छटपटिएर रुँदै मैदान छाडेका थिए ।

रक्षापंक्तिका प्रमुख खेलाडी घाइते भएपछि दुवै टोलीलाई असर पर्ने भएको छ । घुँडामा चोट बोकेका सेमेडोको चोट कस्तो हो भन्ने हालसम्म खुलिसकेको छैन । उनको चेकजाँचको रिपोर्ट आउन बाँकी नै छ ।

सेमेडो घाइते भएपछि इंग्लिस क्लब म्यानचेस्टर सिटीका जुवान कानसेलोलाई मैदान छिराइएको थियो । उनी टोलीको पहिलो रोजाइका राइट ब्याक हुन् । यस खेलमा उनलाई बेन्चमा राखेर सेमेडोलाई मौका दिइएको थियो ।

सेमेडोको चोटले बार्सिलोनामा उनलाई सबैभन्दा बढी घाटा हुनेछ । यसै सिजनबाट टोलीमा पहिलो रोजाइमा राइट ब्याकमा स्थान बनाउँदै आएका उनलाई चोटले समस्यामा पारेको छ । प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा सेमेडो यस सिजन ला लिगामा तीनवटै खेलमा पहिलो रोजाइमा परेका थिए ।

चोटको अवस्था प्रष्ट भइनसकेकाले उनलाई रिकभर हुन कति समय लाग्छ भन्ने प्रष्ट हुन बाँकी छ । बार्सिलोनाले आगामी सेप्टेम्बर १५ मा भ्यालेन्सियासँग लिगको चौथो खेल खेल्दैछ । यता, पोर्चुगलले ३ दिनपछि अवे मैदानमा लिथुनियासँग छनौटको तेस्रो खेल खेल्दैछ ।

प्रकाशित मिति २२ भाद्र २०७६, आईतवार ०४:४०
Loading...