बार्सिलोनाका फ्यानहरूले गरे स्वयम्भू क्षेत्रको सरसफाइ (हेर्नुहोस् १५ तस्बिरमा)

काठमाडौं, भदौ २१
स्पेनिस फुटबल क्लब बार्सिलोनाका नेपाली फ्यानहरूले काठमाडौंको पर्यटकीय स्वयम्भू मन्दिर क्षेत्रमा सरसफाइ गरेका छन् । ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ नामक फेसबुक ग्रुपको अगुवाईमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । सो फेसबुक ग्रुप सञ्चालनमा आएको दुई वर्ष पुगेको अवसरमा फ्यानहरूले पर्यटकीय क्षेत्र सरसफाइ गरेका हुन् । सरसफाइमा काठमाडौं क्षेत्रका ६० भन्दा बढी बार्सिलोनाका फ्यान तथा फुटबलप्रेमीहरू सहभागी थिए ।

फुटबलप्रेमीहरूले सामाजिक कार्यक्रम गर्ने योजनाअनुसार देशको प्रमुख पर्यटकीय क्षेत्रमा पर्ने स्वयम्भू क्षेत्रमा सरसफाइ गरेका हुन् । सरसफाइ कार्यक्रममा काठमाडौंको शान सर्भिस प्रालिले प्राविधिक सहयोग गरेको फेसबुक ग्रुपका प्रमुख कविराज श्रेष्ठले बताए । सो संस्थाले आगामी दिनमा पनि सो समूहको सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । फेसबुक ग्रुपले आगामी दिनमा पनि देशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको सरसफाइ गर्ने योजना लिएको छ ।

प्रकाशित मिति २१ भाद्र २०७६, शनिबार ०९:५३
Loading...