अब नेइमारको ‘सरुवा फी’ फिफाले नै तोक्न सक्ने : कति तोकिएला ?

एजेन्सी, भदौ २१
सन् २०१७ मा स्पेनिस बार्सिलोनाबाट फ्रेन्च क्लब पिएसजी जाँदा ब्राजिलियन नेइमार विश्वकै सर्वाधिक महँगा खेलाडी बने । फुटबलको इतिहासमा पिएसजीले सबैभन्दा धेरै २२२ मिलियन युरो खर्चिएर नेइमारलाई अनुबन्ध गरेको थियो । नेइमारको सो सरुवापछि विश्व फुटबलको ट्रान्सफर मार्केट नै एकाएक बदलियो ।

तर, कीर्तिमानी मूल्यमा पिएसजी पुगेका २७ वर्षीय नेइमार यतिबेला क्लब छाड्ने कसरतमा छन् । र, उनी पूर्वक्लब बार्सिलोना नै फर्किन चाहन्छन् । त्यसका लागि बार्सिलोना र पिएसजीबीच नेइमारको सरुवा फीका लागि पटक–पटक बार्गेनिङ हुँदै आए पनि दुई क्लबीच सहमति बन्न नसक्दा नेइमार तत्कालै बार्सिलोना फर्किने ढोका बन्द भएको छ ।

नेइमारले पिएसजी छाड्न अब कम्तीमा जनवरी सिजन वा आगामी समर सिजनसम्म पर्खिनुपर्ने हुन्छ । नेइमारले पिएसजी छाड्न सबैखाले प्रयास गरे पनि सफल नहुनुमा उनको महँगो सरुवा फी नै हो । पिएसजीले आफूले २२२ मिलियन युरोमा किनेका नेइमारका लागि झन् विश्वकीर्तिमानी रकम माग गरेपछि बार्सिलोना सो अफर पूरा गर्न तयार भएको थिएन ।

बार्सिलोनाले आफ्ना केही खेलाडीसहित रकम थपेर नेइमार फर्काउन प्रयास गरे पनि पिएसजीले सो प्रस्ताव मानेन् । पिएसजीले नेइमारका लागि पूरै रकम नगद नै माग गरेको थियो । बार्सिलोनाले नेइमारका लागि खेलाडी र नगदसहित २०० मिलियन युरोसम्मको मूल्य लगाउन तयार भए पनि पिएसजीले कम्तीमा २७५ देखि ३०० मिलियन युरोसम्म रकम तोकेपछि नेइमारको सरुवा भाँडिएको थियो ।

तर, अब नेइमारको सरुवा फी कति रहने भन्नेमा विश्व फुटबलको सर्वोच्च संस्था फिफाले नै हस्तक्षेप गर्ने सम्भावना बढेको छ । सरुवा बजारलाई नियन्त्रण गर्न र क्लबहरूलाई खेलाडीका लागि मनोमानी बजेट खर्चिने प्रतिस्पर्धालाई नियन्त्रण गर्न फिफाले सो कदम चाल्न सक्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय मिडियाले खबर छापेका छन् ।

फिफाको नियमअनुसार खेलाडी सरुवामा आफूखुसी बजेट खर्चिने क्लबहरूलाई आंकुश लगाउन अवस्थाअनुसार यस्ता मुद्दामा हस्तक्षेप गर्न पाउने अधिकार छ । यदि फिफाले चाहे महँगा सरुवाहहरू खारेज गर्नेदेखि लिएर खेलाडीको न्यूनतम् र अधिकतम् सरुवा शुल्कसमेत आफैं तोक्न सक्छ । तर, त्यसका लागि कुनै पनि खेलाडीले कुनै क्लबमा कम्तीमा तीन सिजन वा तीन वर्ष बिताएको हुनुपर्छ । तसर्थ, नेइमारको विषयमा आगामी समर सिजनमा आवश्यक ठाने फिफाले हस्तक्षेप गर्न सक्छ ।

नेइमारको सरुवा फीले क्लबहरूको आर्थिक दायरा र सीमा उल्लंघन गर्ने खतरा बढेपछि फिफाले नेइमारको विषयमा आफैं अग्रसरता देखाउने सम्भावना बढेको स्पेनिस मिडियाले जनाएका छन् । खेलाडी किनबेचको अनुशासन कायम राख्न फिफाले यस्ता कार्यलाई नियन्त्रण गर्न खेलाडीको अधिकतम् सरुवा फी आफैं तोक्न सक्छ । र, त्यस्ता खेलाडीलाई किन्न चाहने क्लबले सोही रकम खर्चेर किन्न पाउँछ ।

यदि नेइमारको मुद्दामा फिफाले हस्तक्षेप गर्ने अवस्था आए अर्को समरमा नेइमारको अधिकतम् सरुवा फी १७० मिलियन युरो मात्रै कायम हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । यो पिएसजीले बार्सिलोनालाई तिरेको भन्दा ५२ मिलियन कमी हो भने अहिले पिएसजीले माग गरेको ३०० मिलियन भन्दा १३० मिलियन कमी हो ।

प्रकाशित मिति September 7, 2019
Loading...