अन्तर्राष्ट्रिय फुटबलमा रामोसको कीर्तिमान

एजेन्सी, भदौ २१
स्पेनको राष्ट्रिय टोलीका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमान बनाएका छन् । उनी अब स्पेनका लागि सर्वाधिक गोल गर्ने १०औं खेलाडी बनेका छन् ।

अघिल्लो दिन युरो कप छनौट खेलमा रोमानियाविरुद्धको खेलमा पेनाल्टी गोल गरेसँगै उनले स्पेनका लागि गरेको गोल संख्या कूल २१ पुगेको छ । यससँगै उनी स्पेनका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा टप–१० मा परेका छन् ।

रोमानियाविरुद्धको खेलमा गरेको गोलसँगै उनले स्पेनका पूर्वमिडफिल्डर मिकेलको गोल संख्या २१ सँग बराबरी गरेका हुन् । अब स्पेनका लागि २१ गोल गर्नेमा रामोस र मिकेल सँगै रहेका छन् ।

स्पेनका लागि सर्वाधिक गोल डेभिड भिल्लाले ५९ गोल गरेका छन् । त्यसपछि राउलले ४४ गोल गरेका छन् भने फर्नान्डो टोरेजले ३८ गोल गरेका छन् । चौथोमा रहेका डेभिड सिल्भाले ३५ गरेका छन् ।

रामोसले स्पेनका लागि खेलेका पछिल्ला ९ खेलमा ८ खेलमा गोल गरेका छन् । रामोस विश्व फुटबलमै धेरै गोल गर्ने डिफेन्डरमा पर्छन् ।

प्रकाशित मिति २१ भाद्र २०७६, शनिबार ०६:१६
Loading...